
खरसाङ, 28 दिसम्बर (हि.स.)। खरसाङ खण्ड अन्तर्गत उदय संघ घैयाबारीको स्वर्ण जयन्ती समारोह आज विभिन्न सांस्कृतिक, सांगीतिक र सम्मान कार्यक्रमका साथमा सम्पन्न भएको छ। सन् 1975 मा स्थापना भएको उदय संघ घैयाबारीले पचास वर्ष पूरा गरेको अवसरमा नवनिर्मित सार्वजनिक भवनमा स्वर्ण जयन्ती समारोह सम्पन्न गरियो।
उदय संघ घैयाबारीकी सभापति अञ्जली लामाको अध्यक्षता सम्पन्न समारोहमा पूर्व पार्षद आईएन प्रधान प्रमुख अतिथि थिए। यसरी नै घैयाबारी ग्राम पञ्चायत तीनकी पञ्चायत प्रधान सुष्मा वाईबा, उप प्रधान केवल राई, नेताजी हाई स्कूलका प्रधान अध्यापक दिनेश प्रधान, एई एवं पूर्व सचिव सागर राई विशिष्ट अतिथि थिए।
कार्यक्रमको शुरुवात अतिथिहरूद्वारा केक काटेर गरिएको थियो। बुद्धम तामाङ र सरिता गुरुङले सञ्चालन गरेको स्वर्ण जयन्ती समारोहमा स्वागत सम्भाषण उदय संघ घैयाबारीका सचिव बिनोद तामाङले राखेका थिए। समारोहमा घैयाबारी क्षेत्रका सातवटा समाज र संघ संस्थाहरुले गीत र नृत्यहरु प्रस्तुत गरे भने सबैलाई संघको तर्फबाट सम्मान जनाइयो।
कार्यक्रममा उदय संघ अन्तर्गत 12 जना विशिष्ट व्यक्तित्व, संघका 50 जना पुराना चेलीहरु र उदीयमान गायक मोहित भुजेललाई पनि सम्मान जनाइयो। कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य, शास्त्रीय नृत्य र गीतहरु प्रस्तुत गरिएको थियो। कार्यक्रमलाई प्रमुख अतिथि प्रधानले सम्बोधन गरेका थिए।
हिन्दुस्थान समाचार / हनोक