
ढाका, 30 दिसम्बर (हि.स.)। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियाको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन्। उनले खालिदा जियाको निधनलाई बंगलादेशका लागि अपूरणीय क्षति बताएका छन्। प्रधानमन्त्री मोदीले उनको निधनको खबरले आफू अत्यन्तै दुःखी भएको जनाएका छन्।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मार्फत शोक सन्देश जारी गर्दै बेगम खालिदा जियाको परिवार तथा बंगलादेशका जनताप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। उनले यस दुःखद घडीमा ईश्वरले परिवारलाई दुःख सहने शक्ति प्रदान गरून् भन्ने कामना गरेका छन्।
प्रधानमन्त्रीले बेगम खालिदा जियाले बंगलादेशकी पहिलो महिला प्रधानमन्त्रीका रूपमा देशको राजनीतिक तथा विकासात्मक इतिहासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्। भारत–बंगलादेश सम्बन्धलाई मजबुत बनाउन उनको योगदानलाई बिर्सन नसकिने उनले उल्लेख गरेका छन्। प्रधानमन्त्री मोदीले सन् २०१५ मा ढाकामा बेगम खालिदा जियासँग भएको भेटलाई स्मरण गर्दै उनको सोच र विरासतले भारत–बंगलादेश साझेदारीलाई आगामी दिनमा पनि मार्गदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्रीले दिवंगत आत्माको शान्तिका लागि प्रार्थना गर्दै खालिदा जियाको परिवार र बंगलादेशका जनताप्रति पुनः गहिरो समवेदना प्रकट गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी