तमिल भारतीय संस्कृतिको प्राचीन भाषा: प्रधान
Dharmendra Pradhan File Photo


मदुरै, 30 दिसम्बर (हि.स.)। केन्द्रिय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले तमिल भाषा प्राचीन भाषा रहेको बताएका छन्। उनले यो भारतीय संस्कृतिको अत्यन्त पुरानो भाषा हो भनेका छन्। उनले तमिल भाषा राष्ट्रिय एकताको उत्कृष्ट प्रतीक बन्दै गएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले तमिल भाषालाई अत्यन्त सम्मानका साथ हेर्ने गरेको र तिरुवल्लुवरद्वारा रचित तिरुक्कुरलका उत्कृष्ट विचारहरूलाई आत्मसात गरेको पनि उनले बताएका छन्। यो सबैका लागि गर्वको विषय भए पनि केही व्यक्तिहरूले यसमा राजनीति गरिरहेको उनले टिप्पणी गरेका छन्।

काशी तमिल संगममको समापन समारोहमा सहभागी हुन मदुरै पुगेका मन्त्री प्रधानले पत्रकारहरूसँग कुरा गर्दै तमिल भाषासम्बन्धी यी विचार व्यक्त गरेका हुन्। उनले केन्द्र सरकारले पछिल्ला चार वर्षदेखि काशी तमिल संगममलाई अत्यन्त सफल र प्रभावकारी रूपमा आयोजना गर्दै आएको जानकारी गराए। उनले देशको प्राचीन सांस्कृतिक भाषाबारे प्रत्येक नागरिक जानकार हुनु आवश्यक रहेको बताए।

प्रधानले तमिल भाषा राष्ट्रिय एकताको प्रतीक भएको दोहोर्‍याउँदै तमिलनाडुको सत्तारूढ डीएमके पार्टीले सांस्कृतिक कार्यक्रमहरूमा अनावश्यक राजनीति गरिरहेको आरोप लगाए। उनका अनुसार, तमिलनाडुका जनताले नयाँ शिक्षा नीति स्वीकार गरिसकेका छन्, तर राज्यको सत्तारूढ डीएमके सरकारले भने अझै यसलाई अस्वीकार गरिरहेको छ। उनले भने, 'अब उनीहरूसँग केही दिन मात्र बाँकी छन्।'

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande