
रायपुर, 30 दिसम्बर (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का सरसंघचालक डा. मोहन भागवत आजदेखि छत्तीसगढको तीनदिने भ्रमणमा रहनेछन्। डा. भागवतले अभनपुरस्थित ग्राम सोनपेरीमा असंग देव कबीर आश्रममा आयोजना हुने विशाल हिन्दू सम्मेलनलाई सम्बोधन गर्नेछन्। यस अवसरमा उनले समाजका विभिन्न वर्गका प्रतिनिधिसँग संवाद गर्नेछन्।
यो कार्यक्रम संघको शताब्दी वर्ष (२०२५–२६) अन्तर्गत ‘पञ्च परिवर्तन’ र ‘सामाजिक समरसता’ जस्ता विषयमा केन्द्रित रहनेछ। डा. भागवत ३० र ३१ दिसम्बर, २०२५ तथा १ जनवरी, २०२६ सम्म छत्तीसगढ प्रवासमा रहने कार्यक्रम छ।
आयोजन समितिका सचिव प्रदीप गजेन्द्रका अनुसार, सम्मेलनमा राष्ट्रिय सन्त असंग देव जी प्रमुख अतिथिका रूपमा उपस्थित रहनेछन्। कार्यक्रममा सनातन संस्कृति, सामाजिक समरसता तथा राष्ट्रिय चेतनासँग सम्बन्धित विषयमा विचार–विमर्श गरिनेछ। प्रदेशभरबाट ठूलो सङ्ख्यामा सन्त, समाजसेवी तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ।
उनका अनुसार, कार्यक्रमका सम्पूर्ण तयारी पूरा भइसकेका छन् र आयोजनास्थलमा सुरक्षा, यातायात तथा बसोबासको समुचित व्यवस्था गरिएको छ। सम्मेलनलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्न हिन्दू सम्मेलन समितिको टोली परिचालित रहनेछ। संघ प्रमुखको यो भ्रमण छत्तीसगढमा संघका संगठनात्मक गतिविधिलाई थप सुदृढ बनाउने तथा शताब्दी वर्षका कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न महत्वपूर्ण मानिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी