केन्द्रिय राज्यमन्त्री जर्ज कुरियनले सोरेङ जिल्लामा समीक्षा बैठक गरे
George kurian


सोरेङ, ३1 दिसम्बर (हि.स.)। भारत सरकारका अल्पसंख्यक मामिला, मत्स्य पालन, पशुपालन तथा दुग्ध विकास मन्त्रालयका केन्द्रिय राज्यमन्त्री जर्ज कुरियनले सोरेङ जिल्लाको पहिलो दिनको भ्रमणका क्रममा मंगलबार जिल्लामा सञ्चालन भइरहेका विकासात्मक कार्यहरूको प्रगतिबारे समीक्षा बैठक गरे। बैठक सोरेङ जिल्लाको बैगुनेस्थित एक स्थानीय होटलमा सम्पन्न भयो।

केन्द्रिय राज्यमन्त्रीको आगमनमा मत्स्य विभागकी सचिव रोश्नी राई, सोरेङ जिल्लाका जिल्लापाल धीरज सुबेदी, एडीसी (सोरेङ) डीआर बिष्ट तथा विभिन्न विभागका प्रमुखहरूले स्वागत गरे।

जिल्लापाल धीरज सुबेदीले मन्त्रीसमक्ष जिल्लाको समग्र विकास अवस्था तथा सञ्चालनमा रहेका योजनाहरूको विस्तृत प्रस्तुति दिए। प्रस्तुतीकरणका क्रममा उनले जिल्लाभरि कार्यान्वयन भइरहेका विभिन्न परियोजनाहरूको प्रगति जानकारी गराउँदै आकांक्षी जिल्ला कार्यक्रम र आकांक्षी ब्लक कार्यक्रम अन्तर्गतका प्रमुख उपलब्धिहरूबारे जानकारी दिए।

सोरेङ जिल्लाले एबीपी र एडीपी अन्तर्गत उत्कृष्ट कार्यसम्पादनका लागि स्वर्ण तथा रजत पदक प्राप्त गरेको पनि जानकारी गराइयो।

जिल्ला प्रशासनद्वारा सुरु गरिएका वन डे एट स्कूल कार्यक्रम, स्वच्छ पानी, स्वस्थ हामी, थम्ब इम्प्रेसन फ्री अभियान, डिजिटल नोमाड भिलेज, डोरस्टेप गभर्नेन्स तथा दिदीको खाजा घर जस्ता नविन पहलहरूको पनि मन्त्रीलाई अवगत गराइयो।

केन्द्रिय राज्यमन्त्रीले जिल्लाबाट नजिकको विशेष अस्पतालसम्मको दूरीबारे जिज्ञासा राख्दै स्वास्थ्य सेवाको पहुँच सुधारका लागि केन्द्र सरकारबाट आवश्यक सहयोग प्रदान गरिने आश्वासन दिए।

यसैबीच, मत्स्य विभागकी सचिव रोश्नी राईले प्रधानमन्त्री मत्स्य सम्पदा योजना अन्तर्गत जिल्लाको पहिलो अर्गानिक फिसरीज क्लस्टर शुरु गरिएको र सोरेङ जिल्ला राज्यकै अग्रणी माछा उत्पादन जिल्ला बनेको जानकारी दिइन्।

मत्स्य विभागका सहायक निर्देशक सुरेन्द्र भण्डारीले राज्य र जिल्लाको मत्स्य क्षेत्रसम्बन्धी विस्तृत प्रस्तुति दिए। उनले प्रधानमन्त्री मत्स्य सम्पदा योजनाको दोस्रो चरण अन्तर्गत महत्वपूर्ण प्रस्तावहरू स्वीकृतिका लागि पेश गर्दै ती स्वीकृत भएमा राज्यभरिका माछा पालन गर्ने कृषकहरूलाई ठूलो लाभ पुग्ने बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande