राजेन्द्र गोयनकाको पुस्तक 'संपूर्ण समाधान' को विमोचन
राजेन्द्र गोयनकाको पुस्तक 'संपूर्ण समाधान' को विमोचन


नयाँ दिल्ली, 04 मार्च (हि.स.)। देशको सामाजिक र आर्थिक परिदृश्यमा केन्द्रित लेखक राजेन्द्र गोयनकाको पुस्तक 'संपूर्ण समाधान' भारतीय संविधान क्लबको स्पीकर हलमा विमोचन गरियो। प्रतिष्ठित प्रभात प्रकाशनद्वारा हिन्दी भाषामा प्रकाशित यस पुस्तकको विमोचनका अवसरमा सोमवार इन्दिरा गॉंधी राष्ट्रिय कला केन्द्रका अध्यक्ष 'पद्मभूषण' रामबहादुर राय र केन्द्रिय जलशक्ति मन्त्री सीआर पाटिल उपस्थित थिए।

विमोचन समारोहको अध्यक्षता बहुभाषी संवाद समिति हिन्दुस्थान समाचारका समूह सम्पादक पद्मभूषण रामबहादुर रायले गरेको ​थियो। उनले भने, यस पुस्तकमा प्रशासनिक र आर्थिक सुधारहरूमा परिवर्तन ल्याउने क्षमता छ। भारतको नीति निर्माण प्रक्रियामा यसलाई गम्भीरतापूर्वक लिनुपर्छ। पुस्तकको औपचारिक विमोचन केन्द्रियमन्त्री पाटिलले गरेका थिए।

उनले भने, लेखक गोयनकाले 'संपूर्ण समाधान' मा नीतिगत सुधार र समावेशी विकासको दिशामा महत्त्वपूर्ण विचारहरू अगाडि सारेका छन्। पुस्तकमा विभिन्न समस्याहरूको समाधान प्रस्तुत गरिएको छ। उनले एक सचेत नागरिकको भूमिका निर्वाह गरेका छन्। यो पुस्तकले नीति निर्माताहरूको ध्यान आकर्षित गर्ने विश्वास छ।

यस अवसरमा पुस्तकका लेखक गोयनकाले भने, 'समस्याहरूले जीवनमा निराशा ल्याउँछन्। समाधानहरूले उत्साह। यस संसारमा त्यस्तो कुनै समस्या छैन जसको समाधान नै नहोस्। महत्त्वपूर्ण कुरा यो हो कि हामी समस्याको जरासम्म पुग्नुपर्छ र सकारात्मक सोचका साथ समाधान खोज्नु पर्छ। हाम्रो प्रयास सधैं समस्याको हिस्सा बन्नुको सट्टा समाधानको हिस्सा बन्ने हुनुपर्छ।'

पुस्तक चर्चामा अनुसूचित जाति-जनजाति आयोगका पूर्व अध्यक्ष एवं पूर्व सांसद डा. विजय सोनकर शास्त्री, पूर्व सांसद एवं आईसीसीआरका पूर्व अध्यक्ष डा. विनय सहस्रबुद्धे, वर्ल्ड हिन्दू फेडरेशनका अध्यक्ष अजय सिंह, प्रमुख टीवी पत्रकार राणा यशवंत लगायत पूर्व आईएएस र आईपीएस अधिकारीहरूले भाग लिए।

यसमा डा. नितिन रमेश गोकरण जी, विक्रम सिंह, अर्थशास्त्री प्रो. वी उपाध्याय, सुधीर अग्रवाल, गोकुल पटनायक, गुरुग्रामको आयकर आयुक्त भरत भूषण गर्ग, अकु श्रीवास्तव, ओमेगा सेकी मोबिलिटीका संस्थापक र एंग्लियन ओमेगा ग्रुपका अध्यक्ष उदय नारंग, अखिल भारतीय व्यापार मण्डलका सचिव आरके गौड़ प्रमुख थिए।

समारोहको संयोजक आलोक पारिख र भाजपाका राष्ट्रिय सचिव, तमिलनाडु र लक्षद्वीपका प्रभारी अरविन्द मेननले यस पुस्तकको विषयवस्तुलाई आधार बिंदु मानेर नीति र सुशासनमाथि आफ्नो विचार साझा गरे। पुस्तकमा सुझाउ दिइएका नीतिगत सुधार र समाधान आधारित दृष्टिकोणमा वक्ताहरूले प्रभावी शासन, आर्थिक स्थिरता, कृषि नवाचार, न्याय प्रणालीमा सुधार र समावेशी सामाजिक नीतिहरूको आवश्यकतामा बल दिए।

कार्यक्रममा 2025 को अन्त्यसम्ममा 'संपूर्ण समाधान' अंग्रेजी र अन्य भारतीय भाषाहरूमा पनि उपलब्ध गराइने घोषणा गरियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande