पूर्वी सिंहभूम, 18 जून (हि.स.)। पूर्वी सिंहभूम जिल्लामा बितेका केही दिनदेखिको अविरल भइरहेको घना वर्षा, सम्भावित जलभराउ तथा सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रशासनले सतर्कता स्वरूप कदम उठाएको छ। जिल्ला शिक्षा विभगद्वारा जारी आदेश अनुसार 18 जून, 2025-को दिन कक्षा एकदेखि आठौंसम्मको सबै प्रकारका विद्यालय- सरकारी, निजी, सहायता प्राप्त एवं मदरसा बन्द रहनेछन्।
यस निर्णयको पछाड़ी मुख्य कारण रहेको छ, जिल्लामा भइरहेको मुसलधारे वर्षा अनि यसबाट उत्पन्न हुने सम्भावित खतरा। प्रशासनले आशंका व्यक्त गरेको छ, नदी-नालाको जलस्तरमा वृद्धि, जलजमाउ, बिजुलीका खम्बाहरूबाट खतरा तथा सड़कमा चिप्लिने जस्ता स्थितिहरूले बाल-बालिकाहरूको सुरक्षाको निम्ति संकट उत्पन्न गर्नसक्छ।
आदेशमा यो पनि स्पष्ट पारिएको छ, नवौंदेखि बाह्रौं कक्षा वा कलेज स्तरीय कक्षाहरू संचालन भइरहेका शिक्षण संस्थानहरूमा कक्षा एकदेखि आठसम्मको मात्र पठन-पाठन गतिविधि स्थगित रहनेछ भने अन्य कक्षामा पढ़ाई सामान्य रूपमा जारी रहनेछ।
जिल्ला प्रशासनले सबै विद्यालय प्रमुखहरूलाई निर्देश दिएको छ, उनीहरूले आदेशको अक्षरशः पालन सुनिश्चित गरून् अनि विद्यार्थी र अभिभावकहरूलाई समयमै यसको सूचना दिउन्। प्रशासनले अभिभावकहरूसित पनि अपील गरेको छ, उनीहरूले आफ्ना नानीहरूलाई पानी परिरहेको समय अनावश्यक रूपमा बाहिर जान नदिउन्।
मौसम विभाग राँचीद्वारा जारी चेताउनी अनुसार पूर्वी सिंहभूम जिल्लाका केही भागहरूमा तीव्र हावासँगै घना वर्षा हुने सम्भावना छ। विशेष गरी स्वर्णरेखा र खरकई नदीका तटीय अनि निम्न क्षेत्रहरूमा जलस्तर द्रूत गतिमा बढ़िरहेको छ जसले गर्दा बाढ़ी जस्तै स्थिति उत्पन्न हुनसक्ने आशंका व्यक्त गरिएको छ।
यसबीच जिल्ला आपदा प्रबन्धन प्राधिकरण तथा नगरनिगमलाई अलर्टमा राखिएको छ। तल्लो क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरूसित सतर्क रहने अनि आवश्यकता परे सुरक्षित स्थानहरूमा स्थानान्तरण हुने अपील गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा