कोलकाता, 18 जून (हि.स.)। बाँकुड़ा जिल्लाको पात्रसायर थाना क्षेत्रमा गए मंगलवार राति एक हृदयविदारक घटना घट्यो। यहाँ आठ वर्षीय नाबालिकको बलात्कारपछि हत्या भएको छ। आरोपी युवकलाई ग्रामीणहरूले घटना भइरहँदा ठाउँबाटै समातेर मरूञ्जेल कुटे जसले गर्दा आरोपीको मृत्यु भयो। पुलिसले दुवै शवलाई पोस्टमार्टम गर्नको लागि पठाइदिएर मामिलाको जाँच गरिरहेको छ।
घटना बाँकुड़ाको जामकुड़ी पञ्चायत क्षेत्रमा भएको हो। गए मंगलवार साँझ पीड़िता पानी परिसकेपछि घरबाट हिँड़ेकी थिई, यसै अवधि छिमेकमा बस्ने युवक लालुप्रसाद लोहारले फकाई-फुस्लाई उसलाई नजिकैको जंगलमा लिएर गयो। त्यहाँ उसले बालिकासित कथित रूपमा दुष्कर्म गऱ्यो अनि गला दबाएर उसको हत्या गरिदियो। आरोप छ, हत्यापछि उसले शवलाई लुकाउनको लागि खाल्डो खनिरहेको थियो।
स्थानीय मानिसहरूले आरोपीलाई घटनास्थलबाट भाग्ने प्रयास गरिरहेको देखे, तर उनीहरूले आरोपीलाई तुरून्तै समाते। जाँचबुझमा उसले सबै कुरा बताएपछि आक्रोशित ग्रामीणहरूले आरोपीलाई मरूञ्जेल कुटे जसले गर्दा उसको घटनास्थलमै मृत्यु भयो। खबर पाउनसाथ पात्रसायर थानाको पुलिस घटनास्थलमा पुग्यो। दुवै शवलाई पोस्टमर्टम गर्न पठाइदियो।
घटनापछि क्षेत्रमा तनाउ व्याप्त भएको छ। पुलिसले दुष्कर्म-हत्या अनि आरोपीको मृत्यु दुवै मामिलाको जाँच शुरू गरेको छ।
यसबीच घटनाले राजनीतिक मोड़ लिएको छ। तृणमूल कंग्रेसले दाबी गरेको छ, मृतक लालुप्रसाद लोहार भाजपाका सक्रिय कार्यकर्ता थिए। तृणमूलको विष्णुपुर संगठनिक जिल्ला अध्यक्ष सुब्रत दत्तले बुधवार भने, “लालुप्रसाद भाजपाका कार्यकर्ता थिए भने उमाथि यसअघि पनि महिलाहरूसित सम्बन्धित अपराधहरूको आरोप लागिसकेको छ। यो घटनाले एक पटक फेरि साबित गर्दछ कि भाजपाले महिलाहरूलाई सम्मान गर्दैन।”
अर्कोतिर भाजपाको पक्षबाट यस आरोपमाथि कुनै आधिकारिक प्रतिक्रिया दिइएको छैन। पुलिसले सबै पाटो र पक्षलाई ध्यानमा राखेर मामिलाको गम्भीर जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा