नगाउँ (असम), 18 जून (हि.स.)। काजीरंगा राष्ट्रिय उद्यान संलग्न नगाउँ जिल्लान्तर्गत सामागुड़ी क्षेत्रमा गए राति जंगली हात्तीहरूको झुण्डले गाउँका धेरै जना मानिसहरूको घर भत्काइदियो। जंगली हात्तीहरूले घरहरूलाई क्षतिग्रस्त बनाउनको साथै घरमा राखिएका भोजन सामग्री तथा आवश्यक सामानहरूलाई पनि तहस-नहस बनाइदिए। ग्रामीणहरू भने भागेर आफ्नो ज्यान बचाउन सफल भए।
स्थानीय ग्रामीण अनुसार गए मध्य राति हात्तीहरूको झुण्डले आवासीय क्षेत्रमा पसेर धेरैवटा घरहरूलाई क्षतिग्रस्त बनाइदियो। घरहरूको भित्ता, छाना भत्काइदियो। एउटा घरमा त झन् बिजुलीको इन्भर्टरलाई समेत पूर्ण रूपले नष्ट बनाइदियो। यद्यपि कुनै प्रकारको जनहानि भएको सूचना प्राप्त भएको छैन।
स्थानीय एकजना मानिसले बताए, राति सबै सुतिरहेको बेला तीव्र आवाज सुनियो। बाहिर निक्लेर हेर्दा हात्तीहरूको झुण्डले घरहरूलाई तहस-नहस बनाइरहेको थियो। घरहरूलाई ठूलो क्षति पुऱ्याएको छ।
ग्रामीणहरूले आरोप लगाएका छन्, वन विभागलाई बारम्बार फोन गर्दा पनि कुनै सहयोग समयमा प्राप्त भएन। स्थानीय मानिसहरूले वन विभाग, जिल्ला प्रशासन अनि राज्य सरकारसित यस समस्याबाट स्थायी रूपमा मुक्ति दिलाउने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा