सिन्कोना बगान श्रमिकहरूको समस्याहरुलाई लिएर तृणमूल कांग्रेसद्वारा सिन्कोना निर्देशकलाई ज्ञापन
सिन्कोना बगान श्रमिकहरूको समस्याहरुलाई लिएर तृणमूल कांग्रेसद्वारा सिन्कोना निर्देशकलाई ज्ञापन


खरसाङ, 18 जून (हि.स.)। सिन्कोना बगान निर्देशक डा. सामुएल राईलाई हिल टीएमसीको अध्यक्ष एवं पूर्व राज्यसभा सांसद शान्ता छेत्री, आरआर खण्ड टीएमसी पार्टी अध्यक्ष नबीन मिश्र, उप सभापति सन्जय थापा र अन्य नेतृत्वगणले निर्देशक बङ्लो पुगेर भेट गर्दै एक ज्ञापन पत्र चढाएका छन्। यस भेट वार्तामा जीटीए सिन्कोना विभागको कार्यकारी सभासद रतन थापा अनि भागोप्रमो ट्रेड युनियनका प्रतिनिधगण गगन राई, सुजम छेत्री अनि अन्य नेतृत्वगण पनि उपस्थित थिए।

यस बैठकमा हिल तृणमूल सिन्कोना प्लान्टेशन वर्कर्स युनियनको पक्षबाट सिन्कोना बगान श्रमिकवर्गको विविध समस्याहरूलाई लिएर एक ज्ञापन चढाएको छ, जसमा सिन्कोना बगानवासी श्रमिकहरुलाई होमस्टे सञ्चालनको निम्ति सिन्कोना व्यवस्थापनबाट एनओसी दिनु पर्ने, सिन्कोना बगान क्षेत्रमा पञ्चायतबाट भइरहेको विकासको निम्ति एनओसी दिनु पर्ने, सिन्कोना बगानका विभिन्न विभागहरु जस्तै मङपू, रोङ्गो, मन्सोङ अनि लाटपञ्चार अस्पतालहरुमा डाक्टरको नियुक्ति साथै एम्बुलेन्सहरु उपलब्ध गरिनु पर्ने, रेसेप अनि गैरीबासलाई आधिकारिक रुपमा विभाग घोषणा गर्नुपर्ने, सिन्कोना श्रमिकको पक्की घर मर्मत्ति तथा नवनिर्माण गरिनु पर्ने, सिन्कोना श्रमिकहरुको दैनिक हाजिरामा बढोत्तरी हुनु पर्ने मागहरु सामेल छन्।

निर्देशक बंगलोमा डेढ घण्टा लामो चलेको बैठकमा सिन्कोना बगान निर्देशक डा. सामुएल राईले यस सम्पूर्ण विषयहरु सरकार समक्ष राख्ने अनि चॉंडोभन्दा चॉंडो समस्याहरूको समाधानको दिशातर्फ कार्य गर्ने आश्वासन दिएको बताइएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande