मन्त्री राईले गरे इङ्गेज 2025 अभियानको शुभारम्भ
मन्त्री राईले गरे इङ्गेज 2025 अभियानको शुभारम्भ


- विभागले किलोको हिसाबमा मैलाको पैसा उठाउने विचार गरिरहेको मन्त्री राईको भनाई

गान्तोक, 18 जून (हि.स.)। स्वच्छ भारत अभियान (शहर) अन्तर्गत आज देउरालीस्थित राज्य पञ्चायत संसाधन केन्द्रमा इङ्गेज 2025 अभियानको शुभारम्भ गरियो। शहरी विकास विभाग मन्त्री भोजराज राईले विभागका सचिव, मेयर, उपमेयर लगायत अन्य अधिकारीहरूको उपस्थितिमा इङ्गेज 2025 को शुभारम्भ गरे।

यस पहलको उद्देश्य फोहोर व्यवस्थापनमा केन्द्रित सूचना, शिक्षा र सञ्चार (आईईसी) गतिविधिहरू कार्यान्वयन गर्नु हो। उक्त कार्यक्रम विभिन्न विद्यालय र कलेजका विद्यार्थीहरूका लागि आयोजना गरिएको थियो।

पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा मन्त्री राईले यस कार्यक्रममा शहरी क्षेत्रमा सञ्चालित विद्यालय र महाविद्यालयका 40 विद्यार्थीहरूलाई आमन्त्रित गरिएको बताए। विद्यार्थीहरूमा सर सफाई सम्बन्धि जागरूकता ल्याउने उद्देश्यले यस प्रकारको कार्यक्रम आयोजना गरिएको बताए। राज्य बाहिरका मानिसहरूले सिक्किम स्वच्छता साथै सर सफाईको जहिले पनि प्रशंसा गर्दै आइरहेको सर्वविधित नै छ, तर पनि केही कमी कमजोरीहरू रहेको मन्त्रीले महसुस गरे।

उनले राज्यका मानिसहरूमा फोहोर मैला जताततै फ्याँक्नु हुँदैन् भन्ने ज्ञान हुँदाहुँदै पनि कतिजनाले लापारवाही गरेको कारण यसको रोकथामको निम्ति विभाग साथै सरकार नै लागिपरेको बताए। उनले गत केही दिनअघि गान्तोक नगर पालिकाले फोहोर मैलाको दरमा वृद्धि गर्दा चारैतिरबाट आलोचना भएको थियो, तर यस विषयमाथि सरकारले गरेको खर्च हेर्नु हो भने उक्त रकम अझ कम हुने बताए। उनले अबोप्रान्त विभागले किलोको हिसाबमा मैलाको पैसा उठाउने पनि सोंच बनाएको पनि जानकारी गराए।

यदि यसो भएको खण्डमा जसले जति धेरै मैला संग्रह गर्छ उसले पैसा पनि धेरै नै बुझाउनु पर्ने उनको भनाइ रहेको छ। यो नियमलाई लागू गरेको खण्डमा अवश्य पनि मानिसहरूले फोहोर मैला कम गर्न पहल गर्ने उनले सम्भावना व्यक्त गरे। मानिसहरूले जानेर नै फोहोर मैला कम गरेको खण्डमा सरकारको पैसा साथै समय पनि बाँच्ने र फोहोर व्यवस्थापनमा खर्चिने धनराशि कुनै नयाँ परियोजनामा लगानी गर्न सकिने उनले जानकारी गराए।

मन्त्री राईले विद्यार्थीहरूलाई सरकारी नौकरी पाउने उद्देश्य अध्ययन नगर्न सुझाउ दिँदै सबैजना एक योग्य साथै सफल उद्यामी बन्ने सुझाउ राखे। यस कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई लिएर विभिन्न विषयमा प्रतियोगिता आयोजना गरिने उनले जानकारी गराए। कार्यक्रमलाई विभागकी सचिव, आयुक्त एवम् सचिव, गान्तोकका मेयर र उपमेयर लगायत अन्यहरूले पनि सम्बोधन गरेका थिए।

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande