पीडित महिलाहरूलाई सहयोग गर्न वान स्टप सेन्टर सदैव तत्पर
वान स्टप सेन्टर


- इन्दौरको वान स्टप सेन्टरबाट ग्राउण्ड रिपोर्टनयाँ दिल्ली, 14 जून (हि.स.)। प्राय: तीतो अनुभवपछि जीवनको दिशा र अवस्था परिवर्तन हुने गर्दछ। कतिपय मानिसहरूले यसलाई सकारात्मक रूपमा लिन्छन् र आफ्नो जीवन सुधार्न मात्र थाल्दैनन्, तर सहयोगी हात बढाएर आफू जस्तै महिलाहरूलाई पनि सहयोग गर्न थाल्छन्। केन्द्रिय महिला तथा बाल विकास मन्त्रालयको सहयोगमा सञ्चालित इन्दौरको वान स्टप सेन्टरमा पीडित महिलाहरूका यस्ता धेरै प्रेरणादायी कथाहरू पाउन सकिन्छ।

रेखा (परिर्वितत नाम) को कथा कुनै प्रेरणाभन्दा कम छैन। 36 वर्षीया रेखाको श्रीमानले चार वर्षअघि बाटोमा घाँटी निचोरेर मर्नका लागि छोडिदिएको थियो। कोरोनाको कठिन समय थियो, घाइते रेखा इन्दौरको विजयनगरमा रहेको वान स्टप सेन्टर पुगिन् र त्यहाँ सात दिनसम्म आश्रय लिइन्।

उनी भन्छिन्, उनका सासु-ससुराले उनलाई मध्यरातमा श्रीमानसँगै मिलेर कुटपिट गरेर घरबाट निकालिदिएका थिए। मध्यरातमा उनी वान स्टप सेन्टर पुगिन् जहाँ उनलाई सात दिनसम्म चिकित्सा सुविधासहित आश्रय दिइयो। कानुनी सहायता प्राप्त भयो र परामर्श गरियो। त्यसपछि, उनलाई छ महिनाको तालिम दिइयो र त्यसपछि एउटा एनजीओमा जागिर दिइयो। आज पनि आफ्नो कानुनी लडाई जारी राख्दै, रेखाले अहिले आफू जस्ता सासुराली पक्षबाट उत्पीडित महिलाहरूलाई मद्दत गरिरहेकी छिन्। उनी उनीहरूलाई सहयोग गरिरहेकी छिन्।

आफ्नो मुद्दाको बारेमा जानकारी लिन इन्दौरको विजयनगरस्थित वान स्टप सेन्टर पुगेकी रेखा भन्छिन्, महिलाहरूले आफ्नो सम्बन्ध बचाउने प्रयासमा प्रायः बिर्सन्छन् कि उनीहरूको पनि अस्तित्व छ र उनीहरूलाई पनि शिर उठाएर बाँच्ने अधिकार छ। उत्पीडन सहेर समस्याको समाधान हुँदैन, त्यसैले सबैभन्दा पहिले महिलाहरूले आफूलाई बलियो बनाउनुपर्छ। यो पाठ उनले अब अरूहरूलाई दिइरहेकी छिन्।

हर्षिता (परिवर्तित नाम) आफ्नी एक महिनाकी छोरीलाई लिएर यो केन्द्रमा पुगेकी थिइन्। आफ्नो पालो पर्खिरहेकी हर्षिताका आँसुले भरिएका आँखाहरूमा आफ्नो र छोरीको भविष्यको चिन्तालाई स्पष्ट रूपमा प्रतिबिम्बित गरिरहेको थियो। छोरी जन्माएको कारणले गर्दा श्रीमानले घरबाट निकालिदिएको उनी बताउँछिन्। दुई वर्षअघि विवाह गरेपछिको सुन्दर जीवनको सपना अब टुट्न लागेको छ।

हर्षिता भन्छिन्, अब उनले आफ्नो र छोरीको हेरचाह गर्नुपर्नेछ। इकोनमिक्समा एमए गरेकी हर्षिता अब आफ्नी छोरीसँगै आफूमाथि भएको ठगीको न्याय चाहन्छिन्। हर्षिता आफ्नो घर बसाउन चाहन्छिन्। यही आशाका साथ उनी विगत एक महिनादेखि यस केन्द्रमा आइरहेकी छिन् र कानुनी सल्लाह लिइरहेकी छिन्। हर्षितालाई आशा छ कि एक दिन उनका श्रीमान पक्कै पनि यस केन्द्रमा सुनुवाइको लागि आउनेछन् र सबै ठीक कुरा हुनेछ।

50 वर्षीया कौशल्या पनि न्यायको लागि वान स्टप सेन्टर पुगेकी छिन्। यो उमेरमा पनि उनको श्रीमानले उनलाई दिनहुँ कुटपिट गर्छन्। घरमा भाँडाकुँडा धोएर कमाएको पैसा पनि उसले खोसिदिन्छ र उनलाई घरबाट निकालिदिन्छ। श्रीमानको यो दमनबाट दिक्क भएर उनी अब सहयोगको लागि वान स्टप सेन्टरमा आइरहेकी छिन्। कौशल्या भन्छिन्, केटाकेटीहरू ठूला भइसकेका छन्, तर दैनिक कुटपिट सहनुको पनि सीमा हुन्छ। उनीलाई आशा छ कि एक दिन उनीहरूको जीवनमा सबै कुरा ठीकठाक हुनेछ। पीडित महिलाहरूसँग सम्बन्धित यस्ता धेरै घटनाहरू यहाँ हरेक दिन आउँछन्।

वान स्टप सेन्टरकी प्रशासक डा. वन्चना सिंह परिहार भन्छिन्, निर्भया कोष अन्तर्गत पीडित महिलाहरूका लागि देशभरि वान स्टप सेन्टरहरू शुरु भइरहेका बेला इन्दौरमा एउटा केन्द्र शुरु गरिएको थियो। यहाँ 2016 देखि ‘वन स्टप सेन्टर’ सञ्चालनमा छ। जहाँ केन्द्रले मुख्यतया घरेलु हिंसा र महिला उत्पीडनको रोकथामका लागि सेवाहरू प्रदान गर्दछ। केन्द्रमा महिलाहरूलाई एकै ठाउँमा आश्रय, चिकित्सा, कानुनी सहायता, पुलिस सहयोग र परामर्श सहयोग प्रदान गरिन्छ।

उनी भन्छिन्, अहिलेसम्म 'वन स्टप सेन्टर' मा कुल 15,683 मुद्दा सहयोगको लागि आएका छन्, जसमध्ये लगभग 80 प्रतिशत मुद्दाहरू समाधान भइसकेका छन्। घरेलु हिंसाबाट पीडित महिलाहरूको पुनर्स्थापनाको लागि, वान स्टप सेन्टर इन्दौरले मुद्रा आदि जस्ता स्वरोजगार योजनाहरूसँग जोड्ने, रोजगारी दिने, विभिन्न आवश्यक कागजातहरू बनाउने, आर्थिक सहयोग प्रदान गर्ने आदि विभिन्न तालिमहरू सञ्चालन गरिरहेको छ।

महिला एवं बाल विकास विभागको इन्दौर सम्भागकी संयुक्त निदेशक डा. सन्ध्या व्यास भन्छिन्, पछिल्लो केही वर्षमा महिलाहरू आफ्नो अधिकारको बारेमा सचेत भइरहेकी छिन्। विगत नौ वर्षदेखि वान स्टप सेन्टर सञ्चालनमा छ, जहाँबाट महिलाहरूलाई सबै प्रकारको सहयोग मात्र मिलिरहेको छैन, उनीहरूलाई आत्मनिर्भर बनाउने दिशामा पनि काम भइरहेको छ। घरेलु हिंसा सम्बन्धी समस्याहरूको समाधान, घरेलु हिंसाबाट पीडित महिलाहरूको सफलता र पुनर्स्थापनामा जोड दिइएको छ। विभागले महिलाहरूलाई उनीहरूको इच्छा र क्षमता अनुसार सबै प्रकारका तालिम प्रदान गर्ने काम गर्छ, त्यसैले इन्दौरको वान स्टप सेन्टर अन्य राज्यहरूको निम्ति पनि प्रेरणा बनिरहेको छ।

उल्लेखनीय छ, वान स्टप सेन्टर (ओएससी) मिशन शक्ति अन्तर्गत सम्बल भर्टिकलको एक घटक हो। यसले हिंसाबाट प्रभावित महिला र संकटमा परेका महिलाहरूलाई निजी र सार्वजनिक दुवै स्थानमा एउटै छानामुनि एकीकृत सहयोग र समर्थन प्रदान गर्दछ। यसले आवश्यकतामा परेका महिलाहरूलाई चिकित्सा सहायता, कानुनी सहायता र सल्लाह, अस्थायी आश्रय, पुलिस सहायता र मनोसामाजिक परामर्श जस्ता सेवाहरू प्रदान गर्दछ। हाल देशभर 802 ओएससीहरू आफ्नै भवनमा वा अवस्थित सरकारी भवनहरूमा वा किरायको आवासहरूमा सञ्चालित छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande