उत्तर 24 परगना ,27 जून (हि.स.)। रथयात्राको बिहान भएको एक हृदयविदारक सड़क दुर्घटनाको कारण शोक व्याप्त भएको छ। उत्तर 24 परगनाको घोला थाना अन्तर्गत महिषपोता कल्याणी एक्सप्रेसवेमा द्रूत गतिको ट्रकले बाइकलाई पछिबाट ठक्कर दियो जसले गर्दा बाइक सवार महिला सहित तीन जना मानिसहरूको घटनास्थलमै मृत्यु भयो। दुर्घटनापछि क्षेत्रमा कोकोहोलो मच्चियो अनि रथयात्राको हर्षबीच शोक छायो।
पुलिस सूत्र अनुसार मृतकहरूमा दुई जना युवक क्रमैले मोफिजुल मोल्ला (23) र सञ्जीव दे (26) दुवै रहड़ा क्षेत्रका निवासी थिए भने महिलाको पहिचान अहिलेसम्म हुन सकेको छैन। प्रत्यक्षदर्शीहरू अनुसार तीनैजना बाइकमा सवार भएर एक्सप्रेसवेबाट गुज्रिरहेका थिए, अचानक द्रूत गतिमा आएको ट्रकले उनीहरूलाई पछिबाट ठक्कर दियो। ठक्कर भयानक थियो जसले गर्दा तीनैजना बाइकबाट उछिटिएर टाड़ा पुगेर झरे अनि घटनास्थलमै उनीहरूको मृत्यु भयो।
सूचना पाउनसाथ घोला थानाको पुलिस घटनास्थलमा पुग्यो अनि शवहरूलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो। दुर्घटनाको खबर फैलिनसाथ क्षेत्रमा तनाउ जस्तै स्थिति सृजना भयो।
पुलिसको प्रारम्भिक जाँचमा थाहा लागे अनुसार मृतकहरूमध्ये कसैले पनि हेलमेट लगाएका थिएनन्। लगातार जागरूकता अभियान अनि चेताउनी दिँदै आइरहेको भए पनि बाइक सवारहरूको लापरवाही प्राणघातक साबित भइरहेको छ। दुर्घटनापछि ट्रक चालक घटनास्थलबाट भाग्यो जसलाई पुलिसले खोजिरहेको छ। पुलिसले घटनास्थल वरपरका सीसीटीभी फुटेजको पनि जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा