सोनादा, 27 जून (हि.स.)। जीटीएको शिक्षा विभागले वर्तमान समयमा शिक्षक शिक्षिकाहरुका लागि ई पेन्शन र ईपीएफको व्यवस्था शुरु गरिदिएकोमा हिल तराई प्राथमिक शिक्षक संगठन मङ्पू क्षेत्र समितिद्वारा धन्यवाद प्रकट गरिएको छ। लाभार्थी शिक्षकहरूले आज पत्रकार सम्मेलनमा शिक्षक शिक्षिकाहरुका लागि जीटीएको शिक्षा विभागले ई पेन्शन र ईपीएफ शुरु गरेकोमा जीटीए प्रमुख अनित थापा र प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहानप्रति आभार प्रकट गरेका छन्।
हिल तराई प्राथमिक शिक्षक संगठन मङ्पू क्षेत्र समितिका सभापति राजेन थापाले भने, पेन्शन र पीएफको लागि पूर्व शिक्षक शिक्षिकाहरुले धेरै दुःख भोग्नु परिरहेको थियो। तर, जीटीए प्रमुख अनित थापा र डेपुटी चेयरम्यान एवं प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहानले शिक्षक शिक्षिकाहरुको सुविधाको लागि ई पेन्शन र ईपीएफको सुविधा शुरु गरेका छन्, जस कारणले धेरै सुविधा भएको छ।
उनले शिक्षक शिक्षिकाहरुलाई पीएफको हर हिसाबबारे एसआई अविनाश तामाङ र पेन्शनको विषयमा जानकारीको निम्ति प्रदीप सुब्बासित सम्पर्क गर्न सक्ने जानकारी गराएका छन्। उनले प्राथमिक शिक्षा विभागको बोर्ड चेयरम्यान तिलकचनन्द्र रोका, शिक्षा विभागको कार्यकारी निर्देशक, सम्पूर्ण एसआईहरु, बडाबाबु, सम्पूर्ण कर्मचारीहरु साथै हिल तराई प्राथमिक शिक्षक संगठनका सम्पूर्ण पदाधिकारीहरुप्रति पनि आभार प्रकट गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक