खरसाङ, 03 जून (हि.स.)। विश्व साइकिलिङ दिवसको अवसरमा दार्जिलिङ हिमालयन रेलवेको आयोजनामा दिगो पर्यटन, दिगो ट्राभल्स, दिगो फिटनेस र पर्यावरण सचेतनालाई बढावा दिने उद्देश्यले आज खरसाङदेखि तीनधारेसम्म साइकिल ऱ्यालीको आयोजना गरियो। उक्त साइकल ऱ्याली बिहान खरसाङ रेलवे स्टेशनबाट शुरु भएर राष्ट्रिय राजमार्ग हुँदै तीनधारेस्थित दार्जिलिङ हिमालयन रेलवेको कारखाना परिसरसम्म आयोजना गरिएको थियो।
साइकल ऱ्यालीलाई खरसाङ रेलवे स्टेशनमा दार्जिलिङ हिमालयन रेलवेका निर्देशक रिशप चौधरीको विशेष उपस्थितिमा खरसाङ रेलवे स्टेशनका स्टेशन म्यानेजर निन्दिया शेर्पा र आरपीएफका एएसआई मिनबहादुर छेत्रीको बाहुलीबाट झण्डा हल्लाएर शुरु गरिएको थियो। साइकल ऱ्याली खरसाङबाट गिद्ध पहाड, महानदी, घैयाबारी हुँदै तीनधारेस्थित रेलवे कारखानामा पुगेर समापन भयो। ऱ्यालीमा विभिन्न स्थानहरुबाट आएका जम्मा 25 जना साइक्ल्स्टिहरुले भाग लिएका थिए।
दार्जिलिङ हिमालयन रेलवेका निर्देशक चौधरीले सबै सहभागीहरुलाई मेडल र उपहार प्रदान गरे। निर्देशक चौधरीले 'विश्व साइक्लिङ डे' को अवसरमा खरसाङदेखि तीनधारेसम्म साइकिल ऱ्यालीको आयोजना गरिएको र आजदेखि नै समर फेस्टिवल पनि शुरु भएको जानकारी गराए। उनले दिगो पर्यटन, दिगो ट्राभल्स, दिगो फिटनेस र पर्यावरण सचेतनाको निम्ति ऱ्यालीको आयोजना गरिएको बताए।
उनले पहिले यातायातको मुख्य साधन नै साइकल रहेको र अहिले दार्जिलिङ हिमालयन रेलवेको वाष्पचालित इञ्जिन पनि त्यस्तै रेहको बताउँदै यसलाई पर्यटनको लागि संरक्षण गर्न आवश्यक रहेको बताए। उनले आज साइकल ऱ्याली आयोजना गरिएको र आगामी दिनहरूमा प्रतियोगिता पनि आयोजना गरिने बताए।
हिन्दुस्थान समाचार / हनोक