गान्तोक, 03 जून (हि.स.)। सिक्किम सरकारले सिक्किम घुम्न आउने पर्यटकहरू र आगन्तुकहरूको निम्ति एडभाइजरी जारी गरेको छ। भारी वर्षाका कारण उत्तर सिक्किमका विभिन्न ठाउॅंहरू पैह्रोको चपेटमा परेको जनाउॅंदै एडभाइजारी जारी गरिएको छ।
राज्य पर्यटन एवं नागरिक उड्डयन विभागले सिक्किम घुम्न आउने पर्यटकहरू र आगन्तुकहरूको ध्यान आकर्षित गर्दै आज जारी एडभाइजरीमा भनेको छ, उत्तर सिक्किमका विभिन्न ठाउॅंहरूमा पैह्रोका कारण लाचेन र लाचुङ जाने सडक मार्ग अहिलेका लागि अस्थायी रूपमा बन्द गरिएको छ। यद्यपि, सिक्किमका अन्य सबै ठाउॅंहरू पर्यटकहरू लागि खुला छ। विभागले पर्यटकहरू र आगन्तुकहरूलाई सोही अनुरुप आफ्नो यात्राको योजना बनाउन सुझाउ दिएको छ।
उल्लेखनीय छ, अविरल वर्षापछि गएको पैह्रोका कारण उत्तर सिक्किमका विभिन्न ठाउॅंहरूमा पहुॅंच बाधित बनेको छ। वाहनहरूको आवागमन बन्द भएपछि हजारौंको संख्यामा पर्यटकहरू फसेका थिए। हेलीकप्टरको माध्यमद्वारा फसेका पर्यटकहरूको उद्धार कार्य शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल