नरबहादुर भण्डारी कलेजमा वार्षिक उत्सव सम्पन्न
नरबहादुर भण्डारी कलेजमा वार्षिक उत्सव सम्पन्न


शिक्षा मन्त्रीले दिए जैविक विविधता र जैविक कृषिमा आधारित अध्ययन अनुसन्धानमा जोड

गान्तोक, 07 जून (हि.स.)। तादोङस्थित नरबहादुर भण्डारी सरकारी कलेजमा वार्षिक उत्सव 'इन्स्पायर 2025' अत्यन्तै उत्साहजनक र उल्लासपूर्ण वातावरणमा सम्पन्न भयो। यस विशेष अवसरमा शिक्षा मन्त्री राजु बस्नेत मुख्य अतिथि र मुख्यमन्त्रीका प्रेस सचिव योगेन तामाङ विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए।

कार्यक्रमको प्रारम्भमा कलेजका प्राचार्य डा. डी पुरोहितले सम्पूर्ण विशिष्ट व्यक्तित्वहरू, अतिथिहरू र सहभागीहरूलाई स्वागत जनाए। उनले कलेजको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक उपलब्धिहरू, संरचनागत प्रगति तथा विद्यार्थीहरूको समग्र विकासका लागि आवश्यक मागहरू उल्लेख गरे।

मुख्य अतिथि मन्त्री राजु बस्नेतले आफ्नो मन्तव्य राख्ने क्रममा सिक्किमको शिक्षा प्रणालीलाई आमूल परिवर्तन गर्ने सरकारको प्रतिबद्धता व्यक्त गरे। उनले प्रत्येक निर्वाचन क्षेत्रमा एक-एक विश्वविद्यालय स्थापना गर्ने मुख्यमन्त्रीको दृष्टिकोणलाई उल्लेख गर्दै नरबहादुर भण्डारी कलेज जस्तो अग्रणी संस्थाले बहुआयामिक अनुसन्धानमा आधारित शिक्षालाई विशेष गरी जैविक विविधता र जैविक कृषिमा आधारित अध्ययन अनुसन्धानमा जोड दिनुपर्ने कुरामा बल दिए।

एनईपी 2020 अन्तर्गत तादोङ कलेजले निकट भविष्यमा स्वायत्त संस्था बन्ने सम्भावना रहेको भन्दै शिक्षा विभाग यसका लागि सम्पूर्ण सहयोग गर्न तत्पर रहेको बताए। मन्त्री बस्नेतले प्राचार्य र एसआरसी अध्यक्षद्वारा उठाइएका सबै मागहरूलाई गम्भीरतापूर्वक लिने आश्वासन दिए। विद्यार्थीहरूलाई विभिन्न क्षेत्रहरूमा सीप विकास गर्न र आजको जटिल वैश्विक परिवेशमा सङ्कट व्यवस्थापन कौशल अपनाउन आग्रह गरे।

योगेन तामाङले आफ्नो सम्बोधनमा विद्यार्थीहरूलाई जानकारीमूलक बन्न, कलेजका मञ्चहरूलाई आत्मविकासको अवसरका रूपमा प्रयोग गर्न र मानसिक स्वास्थ्यप्रति सजग रहन प्रेरित गरे। उनलेले कडा परिश्रमको विकल्प नरहेको उल्लेख गर्दै विद्यार्थीहरूको समस्याहरू मुख्यमन्त्री समक्ष पुर्‍यायाउने प्रतिबद्धता व्यक्त गरे। साथै, शिक्षामा आमूल सुधार गर्ने उद्देश्यलाई मुख्यमन्त्रीले उच्च प्राथमिकता दिएका छन् भन्ने कुरा पनि स्पष्ट पारे।

एसआरसी अध्यक्ष टासीछिरिङ भोटियाले कलेज र विद्यार्थीहरूको हितमा आधारित विभिन्न मागहरू प्रस्तुत गरेका थिए।

कार्यक्रमको अर्को आकर्षक पक्ष थियो सम्मान समारोह, जसमा विभिन्न सांस्कृतिक तथा खेलकुद गतिविधिहरूका निर्णायकहरूलाई सम्मान गरियो। त्यसैगरी, महोत्सवका प्रायोजकहरूलाई पनि उनीहरूको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै सम्मानित गरियो।

यसपछि विभिन्न प्रतियोगिताका विजेता र उपविजेताहरूलाई ट्रफी र प्रमाणपत्र वितरण गरियो। कार्यक्रमको सांस्कृतिक प्रस्तुतीहरूमा “भोइस अफ् एनबीबीजीसी” विजेताको गीत प्रस्तुती, “पोएट आइडल” द्वारा कविता वाचन, साथै विद्यार्थीहरूको नृत्य र हिपहप प्रस्तुतीहरू विशेष आकर्षण बने।

कार्यक्रमको समापनमा इन्स्पायर 2025 लाई सफल र अविस्मरणीय बनाउने सबै अतिथि, आयोजकहरू, प्रायोजक, शिक्षक-शिक्षिका प्रशासनिक एकाइका कर्मचारी र विद्यार्थीहरूप्रति कल्याण विभागका डीन डा सोनाम छिरिङ भोटियाले धन्यवाद ज्ञापन गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande