गान्तोक, 12 जुलाई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले पद्मश्री पुरस्कारले सम्मानित एक वरिष्ठ साहित्यकार सानु लामाको निधनमा गहिरो शोक व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेको छ। भाजपा सिक्किमले एक युगको अन्त्य भएको बताउॅंदै ईश्वरले उहाँको पवित्र आत्मालाई चिरशान्ति प्रदान गरून् भनी प्रार्थना गरेको छ।
भाजपा सिक्किमले आज जारी आफ्नो शोक सन्देशमा भनेको छ, 'सिक्किमको हरियो वन, हिमालका हिमाली शिखर, अनि टिस्टा–रङ्गीतको छाल आज शोकले ओतप्रोत छन्। नेपाली साहित्य र संगीतको अमर उज्यालो, हाम्रो आत्मा र पहिचानका शब्द शिल्पी, आदरणीय गदुलसिंह लामा— जसलाई हामी सबैले स्नेहपूर्वक सानु लामा भनेर चिन्थ्यौं— आज सिलगढीस्थित एक अस्पतालमा अन्तिम सास फेर्दै अनन्त यात्रामा प्रस्थान गर्नुभयो।'
प्रदेश भाजपाले अझ भनेको छ, 'जहाँ बग्छ टिस्टा रङ्गीत' जस्तो कालजयी गीतमार्फत उहाँले सिक्किमको शौर्य र सौन्दर्य, सिक्किमे मनको समवेदना र हाम्रो साझा अस्तित्वलाई शब्द र संगीतमा अमर बनाइदिनुभयो। ती शब्दहरूले हामीलाई हिमालभन्दा उच्च, नदीभन्दा गहिरो, र आकाशभन्दा विशाल बनाइदिएका थिए। आज ती शब्दहरू मौन छन्, तर स्मृतिमा भने सदासर्वदा प्रतिध्वनित भइरहनेछन्।'
इञ्जिनियरको पेशाबाट शुरु भएको उहाँको जीवनले नेपाली साहित्यमा अनगिन्ती मोतीहरू छरेका छन् भने उहाँका कृतिहरू अंग्रेजी, हिन्दी, उर्दु, असमिया र ओडिया भाषामा अनुवाद भई विश्वभर फैलिएका छन्। उहाँलाई 1993 मा साहित्य अकादमी पुरस्कार, सिक्किम भानु पुरस्कार, डा. शोभा कान्ति थेगिम स्मृति पुरस्कार, मदन व्याखानमाला पुरस्कार, साथै 2005 मा भारतको चौथो सर्वोच्च नागरिक सम्मान पद्मश्री प्रदान गरिएको थियो। यी सबै सम्मानहरू उहाँको सिर्जनशील विराट व्यक्तित्वको केवल झलकमात्र हुन् भनी भाजपा सिक्किमले बताएको छ।
सानु लामाको निधनले नेपाली साहित्य र गीत–सङ्गीतको एउटा सुवर्ण युग नै अस्ताएको अनुभूति भएको छ। यस्तो प्रतिभा युगौंमा एकपटकमात्र जन्मन्छ। उहाँको सिर्जना भने शब्दहरूमा, गीतहरूमा, अनि हाम्रो हृदयमा अनन्त-अनन्तसम्म जीवित रहने प्रदेश भाजपाले आफ्नो शोक सन्देशमा उल्लेख गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल