मंगन, 02 जुलाई (हि.स.)। लाचेन मंगन निर्वाचन क्षेत्रका विधायक एवं मन्त्री साम्डुप लेप्चाको उपस्थितिमा आज मंगन नगर पञ्चायत भवनमा जनता भेट कार्यक्रम आयोजन गरियो। कार्यक्रम आयोजन गर्नुको मुख्य उद्देश्य जनताका मुद्दाहरू र गुनासोहरूलाई सम्बोधन गर्नु रहेको सरकारी विज्ञप्तिमा उल्लेख छ।
मन्त्री लेप्चाले आफ्नो सम्बोधनमा यस क्षेत्रको विकासको आवश्यकतालाई सम्बोधन गर्ने सरकारको प्रतिबद्धता दोहोर्याए। उनले मंगनका जनता, विशेष गरी व्यापारी समुदायलाई हरेक कदममा सरकारलाई सहयोग गर्न आग्रह गरे। उनले समय-समयमा सरकारले तोकेका सबै नियम र दिशानिर्देशहरूको कडाईका साथ पालना गर्न पनि आह्वान गरे।
यसपछि, मन्त्री लेप्चाले मंगन बजारका जनतासॅंग अन्तरक्रिया गर्दै उनीहरूका माग र अनुरोधहरूलाई सम्बोधन गरेका थिए। कार्यक्रममा सामाजिक कल्याण विभागका पूर्व अध्यक्ष, उत्तर सिक्किमका पूर्व एपीएस, पार्षदगण, स्थानीय जनता, व्यापारी समुदाय आदि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल