खरसाङ, 02 जुलाई (हि.स.)। खरसाङ खण्ड विकास अन्तर्गत शिवखोला ग्राम पञ्चायतभित्र पर्ने सांंसद-2 सिमरिङमा पञ्चायत सदस्य बिक्की तामाङको तत्परतामा तीन दिवसीय सर सफाई कार्यक्रम सम्पन्न भएको छ। यस सर सफाई कार्यक्रम अन्तर्गत गाउँको सार्वजनिक ठाउँ, स्कूल, पिउने पानीको ट्याङ्की आदि सर सफाई गरियो भने प्लास्टिकको सठिक व्यवस्थापन गर्नुपर्ने विषयमा स्थानीय वासिन्दाहरुलाई सचेतना गरायो।
गाउँ घरलाई सफा र स्वच्छ राख्न,प्लास्टिक जतासुकै नफ्याक्न अपील गरियो। प्लास्टिकमुक्त गाउँ बनाउन आयोजित यस पहलमा सफाईकर्मी डुप्छेन तामाङ, केसाङ तामाङ, सफाई-सुपरभाइजर दिपेश तामाङ अनि भीसीटी सदस्या बिनिता सुब्बा, रिया गुरुङ, पञ्चायत समिति सदस्या आँगानवाडी कर्मी, आशाकर्मीले सहयोग पुऱ्याएका थिए।
पञ्चायत सदस्यले स्थानीय बासिन्दाहरू र स्कूलका विद्यार्थीहरुलाई प्लास्टिक, मिठाईको खोल इत्यादि डस्टबिनमा फ्याक्न आह्वान गर्दै प्लास्टिकले पार्यवारणलाई मात्र होइन वन्यजन्तु, मानव जीवनलाई हानि पुऱ्याउने बताए।
हिन्दुस्थान समाचार / हनोक