दार्जिलिङ, 24 जुलाई (हि.स.)। कल्याण राईको न्यायको निम्ति कल्याणका सम्पूर्ण साथीहरू एकजुट भएका छन्। कल्याण राई दार्जिलिङ सरकारी महाविद्यालय छात्र संसदका एक पूर्व कर्मठ सदस्य थिए। कल्याण राईको हत्यामा विभिन्न राजनीतिक पार्टीमा भएका सम्पूर्ण साथीहरू एक भएर कल्याणको न्यायको निम्ति अघि आएका छन्।
उनीहरूले शुक्रवार २५ जुलाईको दिन दार्जिलिङको चौरस्तामा श्रद्धाञ्जली सभा गर्ने भएका छन्। कल्याण राईका साथी राब्गे राईले भने, आज हामी सम्पूर्ण पुरानो छात्र संसदका सदस्यहरू एउटा मञ्चमा आएका छौं। कारण हाम्रो साथी कल्याणको सिक्किम राज्यमा जुन हत्या भयो त्यसको हामी घोर विरोध गर्छौं। उनले सबैलाई कल्याणको निम्ति दार्जिलिङको चौरस्तमा मैनबत्ती लिएर आइदिन अपील पनि गरे।
उनले भने, कल्याणको परिवार पक्षसँग बात गर्दा हामीलाई अनौठो लाग्यो र पुलिस प्रशासनले यो घटनामा सजिलो प्रकारले काम गरिरहेको हामीले देख्यौँ। हामी बिन्ती गर्छौ, यस घटनालाई उचित छानबीन गरेर सम्बन्धित दोषीहरूलाई पक्राउ गर्नु पर्ने माग गर्छौं।
यसै क्रममा प्रवेश राईले भने, कल्याणको हत्यापछि धेरै हातहरू रहेको हामीलाई शंका लागेको छ। हामी न्यायको निम्ति हर सम्भव लड्ने छौं। उनले भने, सिक्किम पुलिसको प्रेस स्टेटमेन्ट न्यायोचित लागेको छैन। यसैले यसमा पुलिसले उचित छानबीन गरेको हुनुपर्छ।
हिन्दुस्थान समाचार / हनोक