कल्याण राईको हत्या अत्यन्तै दुःखद, निन्दनीय र अमानवीय: सीएपी
सीएपी महासचिव (संगठन) प्रकाश पराजुली


गान्तोक, 25 जुलाई (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले गान्तोकको कृषि भवन नजिक भएको एक युवक कल्याण राईको हत्यालाई अत्यन्तै दुःखद, निन्दनीय र अमानवीय बताएको छ। सीएपीले लेबोङ, दार्जिलिङ निवासी स्व. राईको यति क्रूर र रहस्यमय ढंगमा भएको हत्या सम्पूर्ण समाज र मानवताका लागि गम्भीर चिन्ताको विषय बनेको बताएको छ।

सीएपी महासचिव (संगठन) प्रकाश पराजुलीले सिक्किम आज अराजकता, डर, हिंसा र अपराधको अँध्यारोमा डुबिरहेको कटु यथार्थतिर हामी आँखा चिम्लेर बस्न सक्दैनौं भनी आज प्रेस विज्ञप्तिमा बताएका छन्। उनले सिक्किम पहिला जस्तो अब शान्ति रहेन भन्दै हत्या, बलात्कार, चोरी, डकैती, युवाहरूको सन्देहस्पद मृत्यु जस्ता घटनाहरूले राज्यको प्रशासनिक र कानुनी संरचनामाथि गम्भीर प्रश्न खडा गरिरहेको बताएका छन्।

उनले जब कानूनका रक्षकहरूलाई राजनीतिक सत्ताका अनुचर बन्न बाध्य पारिन्छन्, तब अपराधीहरूले संरक्षण पाउँछन् र निर्दोषहरूले मृत्युबाहेक अरु केही पाउँदैनन् भनी बताएका छन्। उनले पुलिस प्रशासन पूर्ण रूपमा स्वतन्त्र नभएसम्म न्यायको आशा केवल भ्रममा परिणत हुनेछ भनेका छन्।

उनले एक 35–36 वर्षका जवान युवकलाई 76 वर्षीय वृद्धले हत्या गर्नु केवल अकल्पनीय मात्र होइन, अनुसन्धानमै प्रश्न खडा गर्ने अत्यन्तै गम्भीर विषय हो भनेका छन्। उनले यस घटनालाई लिएर निष्पक्ष, वैज्ञानिक र विस्तृत अनुसन्धान अपरिहार्य रहेको बताएका छन्।

उनले स्व. कल्याण राईको शोकसन्तप्त परिवारप्रति पार्टीको तर्फबाट हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै गरेका छन्। उनले दोषीहरूलाई कानुनी कठघरामा उभिएर उचित दण्ड पाउने विश्वास व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande