कोलकातामा रातभरि परेको पानीले दुईवटा घरको भित्ता भत्काइदियो
कोलकातामा रातभरि परेको पानीले दुईवटा घरको भित्ता भत्काइदियो


कोलकाता, 25 जुलाई (हि.स.)। रातभरि भएको अविरल वर्षाले कोलकाताका कतिपय क्षेत्रहरूमा व्यापक क्षति पुऱ्याएको छ। शहरमा दुईवटा पुरानो घर भत्किएको अनि एउटा रूख ढलेको खबर प्राप्त भएको छ। तथापि यी घटनाहरूमा कुनै प्रकारको ज्यान हानि भएको समाचार प्राप्त भएको छैन। प्रशासनले तत्कालै कारबाही गर्दै राहत कार्य शुरू गरेको छ।

शुक्रवार बिहान बऊबजार क्षेत्रस्थित एउटा पुरानो घरको एक भाग वर्षाले गर्दा भत्कियो। घरका अवशेषहरू फुटपाथमा रहेको एउटा अस्थायी पसलमाथि झऱ्यो जसले उक्त पसललाई क्षति पुऱ्याएको छ। तथापि घटनामा कोही पनि घाइते भएन। अर्को घटना गिरीश पार्क क्षेत्रमा भएको छ जहाँ पहिलाबाटै खतरनाक घोषित एउटा पुरानो घरको एक भाग भत्किएर झऱ्यो। यहाँ पनि कसैलाई कुनै प्रकारको चोट लागेन।

यसरी नै फोर्ट विलियम नजिकै मैदान क्षेत्रमा एउटा विशाल रूख ढल्यो। कोलकाता पुलिसले तत्कालै सड़कबाट रूखलाई हटाएर यातायात बहाल गरिदियो जसबाट कुनै पनि प्रकारको ट्राफिक जाम हुन पाएन।

लगातार पानी परिरहेकोले शहरका केही भागहरू जलमग्न भएका छन्। कोलकाता नगरनिगमले पम्पिंग मशिनको माध्यमबाट पानी निकासीको कार्य शुरू गरेको छ। कतिपय क्षेत्रहरूमा पानीको निकासी भइसकेको छ।प्रशासनले सक्रियता पूर्वक स्थितिलाई चाँड़ै सामान्य बनाउने चेष्टा गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande