सांसद सुब्बाले उत्तर सिक्किमको लागि वैकल्पिक राजमार्ग निर्माणमा तीव्रता ल्याउन रक्षा राज्यमन्त्रीलाई हस्तक्षेप गर्न अनुरोध गरे
सांसद सुब्बाले उत्तर सिक्किमको लागि वैकल्पिक राजमार्ग निर्माणमा तीव्रता ल्याउन रक्षा राज्यमन्त्रीलाई हस्तक्षेप गर्न अनुरोध गरे


गान्तोक, 25 जुलाई (हि.स.)। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले नयाँ दिल्लीमा आज केन्द्रिय रक्षा राज्यमन्त्री संजय सेठसॅंग भेट गरेर उत्तर सिक्किमको लागि वैकल्पिक राजमार्ग निर्माणमा तीव्रता ल्याउन तत्काल हस्तक्षेपको लागि अनुरोध गर्दै ज्ञापन पत्र बुझाएका छन्।

बैठकमा सांसद डा. सुब्बाले प्रस्तावित मार्गको रणनीतिक, विकासात्मक र मानवीय महत्त्वलाई प्रकाश पारे। उनले चुङथाङ र लाचेन हुँदै गान्तोक र जीमा बीचको हालको सम्पर्क सञ्जाल बारम्बार पैह्रो, मौसमसँग सम्बन्धित अवरोधहरू र कठिन भू-भागको जोखिममा रहेको अवगत गराए।

डा. सुब्बाले मन्त्रीलाई हालैमा उत्तर सिक्किममा सडक पूर्वाधार सम्बन्धित चुनौतीहरूलाई लिएर सीमा सडक संगठन (बीआरओ) का महानिर्देशकसँग विस्तृत छलफल गरेको जानकारी गराए। बीआरओले प्रस्ताव अगाडि बढाउन तत्परता देखाएको भए पनि राज्य सरकारसँगको समन्वयमा अनुमोदन र कार्यान्वयनलाई तीव्र बनाउन रक्षा मन्त्रालयबाट समयमै सहयोग र मार्गदर्शन महत्त्वपूर्ण हुने कुरामा उनले जोड दिए।

सांसद सुब्बाले उत्तर सिक्किमको वर्तमान अवस्था एकदमै कमजोर रहेको जानकारी गराउॅंदै प्रायः स्थानीय समुदायहरू आवश्यक सेवाहरूबाट वञ्चित बन्नु पर्ने अवस्था छ भने रक्षा तयारी पनि प्रभावित बनिरहेको बताए। उनले वैकल्पिक राजमार्गले वर्षभरि पहुँच सुनिश्चित गर्नेछ, क्षेत्रीय विकासलाई बढावा दिनेछ र नजिकैको संवेदनशील सीमा क्षेत्रहरूलाई ध्यानमा राख्दै एक महत्वपूर्ण रणनीतिक सम्पत्तिको रूपमा काम गर्नेछ भनी बताए।

रक्षा मन्त्रालयले यस विषयलाई प्राथमिकता दिनेछ र परियोजनालाई छिटोभन्दा छिटो शुरु गर्न आवश्यक कदम चाल्नेछ भनी आज जारी एक प्रेस विज्ञप्तिमा आशा व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande