गान्तोक, 25 जुलाई (हि.स.)। पाकिम जिल्ला अन्तर्गत पाकिम बजारमा एक व्यक्तिको हत्या भएको घटना प्रकाशमा आएको छ। मृतक व्यक्तिको नाम विजय छेत्री बताइएको छ। यस हत्याकाण्डको सन्दर्भमा कालेबुङ निवासी एक व्यक्तिलाई पक्राउ गरिएको छ।
पुलिस रिपोर्टमा उल्लेख गरिएअनुसार, बिहिवार पाकिम बजारस्थित एक्सो परिसरमा एक अज्ञात व्यक्तिको शव लुगाफाटाले छोपिएको अवस्थामा फेला पऱ्यो। मृतक व्यक्तिको टाउको गम्भीर चोट लागेको थियो भने अत्यधिक रगत बगेको थियो। शवको छेउमा रगतले लतपतिएको एउटा ढुङ्गा पनि भेटिएको छ, जसले उक्त व्यक्तिको हत्या ढुङ्गाले हिर्काएर गरिएको स्पष्ट हुन्छ।
पुलिसले मृतक व्यक्तिको पहिचान नाम्चेबुङ निवासी विजय छेत्रीको रूपमा भएको बताएको छ। यस घटनाको सम्बन्धमा आपराधिक मामिला दर्ता गरेर पुलिसले जॉंच पडताल शुरू गऱ्यो। यस क्रममा लगभग 65 वर्षीय आरोपी सन्तोष गुरुङलाई हिरासतमा लिइयो। उनी मूलरूपमा कालेबुङ निवासी रहेको र अहिले पाकिम बस्दै आएको बताइएको छ। सोधपुछ अवधि आरोपी व्यक्तिले यस हत्याकाण्डमा आफ्नो हात रहेको कुरा स्वीकार गरेको पुलिसले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।
पुलिसले आरोपी व्यक्ति विरुद्ध बीएनएस 2023 को धारा 103/238 अन्तर्गत मामिला दर्ता गरेको छ। शव पोस्टमार्टमको निम्ति एसटीएनएम अस्पताल पठाइएको छ। यस घटनाको सम्बन्धमा जॉंच जारी रहेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल