24औं मिस्टर सिक्किम बडीबिल्डङ च्याम्पियनशिपका विजेतालाई रोयल एनफिल्ड बाइक र गोल्ड चेन
24औं मिस्टर सिक्किम बडीबिल्डङ च्याम्पियनशिपका विजेतालाई रोयल एनफिल्ड बाइक र गोल्ड चेन


गान्तोक, 05 जुलाई (हि.स.)। सिक्किम स्टेट बडीबिल्डिङ एसोसिएशनले आगामी 23 अगस्तका दिन राजधानीको मनन केन्द्रमा 24औं मिस्टर सिक्किम र 7औं मेन्स एण्ड वुमन्स फीजिक च्याम्पियनशिप 2025 आयोजना गर्ने भएको छ। आयोजक संस्थाले आज विजयी प्रतियोगीहरूको निम्ति पुरस्कारहरूको घोषणा गर्दै विभिन्न वर्गका प्रतियोगीहरूलाई लगभग 25 लाख रूपियॉंको पुरस्कार प्रदान गरिने बताएको छ।

सिक्किम स्टेट बडीबिल्डिङ एसोसिएशनका अध्यक्ष अरुण गुरुङले आज एक पत्रकार सम्मेलनमा संस्थाले यसपाली संस्थाको रजत जयन्ती र सिक्किम राज्य स्थापनाको 50औं वर्षगॉंठ मनाइरहेको जानकारी गराउॅंदै 24औं मिस्टर सिक्किम भव्यरूपमा आयोजना गर्ने निर्णय लिएको बताए। उनले बडीबिल्डिङको इतिहासमा सम्भवत: पूर्वोत्तर राज्यहरूमा नै यति ठूलो पुरस्कार राशि प्रदान भइरहेको दाबी गरे।

यस अघि संस्थाकी कोषाध्यक्ष लक्ष्मीमाया गुरुङले भनिन्, प्रतियोगिता कूल चार वर्गमा सम्पन्न गरिने छन्, जसमा मिस्टर सिक्किम ब​डीबिल्डिङ च्याम्पियनशिप, मेन्स एण्ड वुमन्स फीजिक, डेनिम जिन्स र स्पोर्ट्स मोडल सामेल छन्। मिस्टर सिक्किम विजेतालाई रोयल एनफिल्ड बाइक र गोल्ड चेन तथा टप 5 प्रतियोगितालाई नगद राशि प्रदान गरिने छ।

यसरी नै मेन एण्ड वुमन्स फीजिक च्याम्पिनशिप अन्तर्गत पुरुष वर्गका विजेतालाई रोयल एनफिल्ड बाइक र गोल्ड चेन तथा महिला वर्गका विजेतालाई स्कूटी र गोल्ड चेन लगायत टप 5 प्रतियोगितालाई नगद राशि प्रदान गरिने छ। डेनिम जिन्स एण्ड स्पोर्ट्स मोडलका विजेताहरूको निम्ति पनि आकर्षक पुरस्कार छन्। उनले यसपाली प्रतियोगिताको निम्ति कूल राशि लगभग 25 लाख रूपियॉं रहेको जानकारी गराइन्।

संस्थाका सदस्य राहुलले यसपाली आयोजक संस्थाले राज्यका चारवटा पुनर्वास केन्द्रलाई जीम उपकरणहरू प्रदान गर्ने जानकारी गराए। उनले गान्तोकको फ्रीडम फेसीलिटी, निमटारको पुनर्वास एवं नशामुक्ति केन्द्र र नाम्चीको सन्जिवनी केन्द्रलाई जीम उपकरणहरू प्रदान गरिने बताए।

यस सम्बन्धमा अध्यक्ष गुरुङले भने, पुनर्वास केन्द्रहरूमा उपचाराधिनहरूले जीमका उपकरणहरूसॅंग समय बिताउन थालेपछि उनीहरू बाहिर आएर अवश्य पनि जीम जान थाल्नेछन्। जीम जान थालेपछि स्वास्थ्य राम्रो हुनेछ र जीवन अनुशासित बन्नेछ। यसपछि, उनीहरूको जीवनमा सकारात्मक परिवर्तन आउन शुरू हुने उनले विश्वास व्यक्त गरे।

संस्थाका संयुक्त सचिव सुमन तामाङले संस्थाको वेबसाइटमा गएर प्रतियोगिताको निम्ति पञ्जीकरण लगायत अन्य जानकारीहरू प्राप्त गर्न सक्ने बताए। उनले प्रतियोगिताको साक्षी बन्न सबैलाई उक्त दिन मनन केन्द्रमा उपस्थित भइदिने आह्वान गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande