गान्तोक, 05 जुलाई (हि.स.)। गान्तोकको जनपक्ष प्रकाशनद्वारा प्रकाशित प्रोफेसर डा. दिवाकर प्रधानको अनुसन्धानात्मक र चिन्तनमूलक निबन्धात्मक लेख सङ्ग्रह 'यसरी बुझ्दा' आज तादोङस्थित होटल डेज इनमा भव्य समारोहपूर्वक सार्वजनिक भयो। साहित्यकार राज के श्रेष्ठको अध्यक्षतामा भएको उक्त समारोहमा भाषाविद् डा गोकुल सिन्हा प्रमुख अतिथि रहेका थिए ।
लेखककी अर्धाङ्गिनी दिवङ्गत निर्मला प्रधानको चौथो पुण्यतिथिको स्मरणमा आयोजित समारोहमा दिवङ्गताको छायाछविमा पुष्पाञ्जलि गरी कार्यक्रमको थालनी भयो। समारोहमा ग्रन्थका भूमिकाकार तथा सिक्किम विश्वविद्यालयका प्राध्यापक डा बलराम पाण्डे र नरबहादुर भण्डारी सरकारी महाविद्यालय, तादोङका डा टेकबहादुर छेत्रीले ग्रन्थको विशेषता, महत्त्व र उपयोगिताबारे प्रकाश पारे ।
डा पाण्डेले स्थापित र जनजातीय धर्मसंस्कृतिबारे लेखिएको निबन्धहरूले गोर्खा जातिको मौलिकता विमर्शन गरिएको हुनाले प्रत्येक नागरिकको घरमा यो पुस्तक पुग्नुपर्ने हो भनी अनुनय गरे। डा छेत्रीले सूचना र संज्ञान प्रसारित गर्नमा यस पुस्तकले महत् भूमिका निर्वाह गरेको बोध गराउँदै मनाएर मक्ख पर्नु मात्र नभई लेखेर लब्ध पनि हुनुपर्ने अनि जनाएर जण्डा हुनुपर्ने चेतना भरिदिए।
लेखक दिवाकर प्रधानले सनातन संस्कृतिले चिनाएको विश्व बुझ्न आफू यो व्यसम्म व्यस्त रहेको बताए। प्रस्तुत पुस्तक जिज्ञासु विद्यार्थीहरुको संसर्ग र समयोचित प्रश्नहरूको उत्तर खोज्ने, पर्गेल्ने र त्यसलाई बुझ्ने अकिञ्चन प्रयास हो भने। यस पुस्तकले सबैको प्रश्नलाई शमन गर्न नसके पनि सूचना प्रदान गर्ने प्रचेष्टा रहेको बताए।
प्रमुख अतिथिको सम्बोधनका क्रममा डा गोकुल सिन्हाले संस्कृतिका विविध पाटा रहेका र त्यसको एउटा पाटो चिनाउने लेखकको सत्प्रयास सराहनीय रहेको मन्तव्य राखे । हामीले बुझिल्याएका कुरालाई अझ परिष्कृत रूपमा पुस्तक प्रकाशित भई आउँदा नयाँ पिँढीलाई धेरै लाभ हुने सिन्हाले बताए।
सभाध्यक्षको सम्बोधनमा राज के श्रेष्ठले हाम्रो अहोभाग्यले प्रोफेसर दिवाकर प्रधानजस्ता विद्वान्को संसर्ग पाएका छौँ। आगामी दिनमा उनीबाट पथप्रदर्शक ग्रन्थहरू सृजित हुने अपेक्षा राख्दै समारोहको भव्यता वर्णन गरे।
समारोहलाई कवि प्रवीण खालिङ, परशु ढकाल, रञ्जना कार्कीका कविताले दिव्यता प्रदान गर्यो।
उपस्थित गन्यमान्यहरूमा रुद्र पौड्याल, केएन शर्मा, हरि ढुङ्गेल, पङ्कज थापा, भीम ठटाल, अनिता निरौला, डा गीता निरौला, डा उदय छेत्री, सुधा एम राई, प्रवीण राई 'जुमेली', प्रिमुला भण्डारीको रहेका थिए। अन्यमा वरिष्ठ साहित्यकार, संस्कृति-चिन्तक, समाजसेवी, शोधार्थी, विद्यार्थी सञ्चार माध्यमका सदस्यहरू रहेका थिए।
---------------
हिन्दुस्थान समाचार / बिशाल