गान्तोक, 05 जुलाई (हि.स.)। भाजपा सिक्किमले आज मार्तम रुम्तेक निर्वाचन क्षेत्र अन्तर्गत सिक्किमको सबैभन्दा सफा गाउँ नामिन तुम्लाबुङमा आयुष्मान भारत र ई-श्रम पञ्जीकरण अभियानलाई सहज बनाउन सेवा एवं सम्पर्क अभियान आयोजना गर्यो। कार्यक्रममा प्रदेश उपाध्यक्ष दिनेशचन्द्र नेपाल, मिडिया प्रभारी निरेन भण्डारी, प्रवक्ता पासाङ ग्याली शेर्पा, वरिष्ठ नेता चक्रपाणि भट्टराईको उपस्थिति थियो।
कार्यक्रमको शुरुवात भारतीय स्वतन्त्रता सेनानी एवं क्याप्टेन रामसिंह ठकुरीको प्रतिमामा माल्यार्पण गरेर नेताजी सुभाषचन्द्र बोसको नेतृत्वधीन भारतीय राष्ट्रिय सेना (आईएनए) को अगुवाईमा भारतको स्वतन्त्रता आन्दोलनमा उनको अनुकरणीय योगदानलाई सम्मान जनाइयो।
कार्यक्रममा 70 वर्ष र सोभन्दा माथिका उमेरका वरिष्ठ नागरिकहरूलाई नि:शुल्क स्वास्थ्य सेवाहरूमा पहुँच सुनिश्चित गर्दै आयुष्मान भारत कार्ड जारी गरियो भने असंगठित क्षेत्रमा काम गर्ने कामदारहरूलाई ई-श्रम कार्ड प्रदान गरियो। स्थानीय मानिसहरूले भाजपा सिक्किमलाई यी आवश्यक सेवाहरूलाई सिधै सीमान्तकृत वर्गको घरदैलोमा पुर्याएकोमा हार्दिक आभार व्यक्त गरेको आज जारी प्रेस विप्तिमा उल्लेख छ।
भाजपा प्रवक्ता पासाङ ग्याली शेर्पाले नामिन-तुम्लाबुङका बासिन्दाहरूलाई सिक्किमको सबैभन्दा सफा गाउँको रूपमा गाउँ कायम राख्न गरेको अनुकरणीय प्रयासको प्रशंसा गरे। उनले आयुष्मान भारत र ई-श्रम योजनाहरूको रूपान्तरणकारी फाइदाहरूको बारेमा जानकारी गराउॅंदै यी पहलहरूले स्वास्थ्य सेवा पहुँच र वित्तीय सुरक्षा प्रदान गरेर कमजोर समुदायहरूलाई कसरी सशक्त बनाइरहेको छ भन्ने कुरामा जोड दिए। उनले सीमान्तकृतहरूको लागि सम्मानजनक जीवन सुनिश्चित गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गरे।
यसरी नै भाजपा नाम्ची जिल्ला टोलीले पनि आज नाम्ची जिल्लाको नामथाङ रातेपानीस्थित रातेपानी ग्राम पञ्चायत एकाईमा सेवा र सम्पर्क अभियान कार्यक्रम आयोजन गरेको विज्ञप्तिमा बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल