हावड़ा, 5 जुलाई (हि.स.)। हावड़ाको गढ़चुमुक क्षेत्रमा गए शुक्रवार राती कथित रूपमा एकजना होटल मालिकमाथि कुटपिट अनि अपहरण गर्ने प्रयास गरेको मामिलामा पुलिसले पीड़ितकी सौतेनी आमा र बहिनी लगायत 18 जनालाई पक्राउ गरेको छ।
पुलिस सूत्र अनुसार गढ़चुमुक निवासी मदन काड़ार नामक व्यवसायीले दुईवटा विवाह गरेका थिए। उनको पहिलो पत्नीबाट चारजना छोरीहरू एकजना छोरा छन् भने दोस्रो पत्नीबाट एकजना छोरी छे। मदन काड़ारको मृत्यु भएपछि उनकी पहिलो पत्नीका छोरा प्रोसेनजीत काड़ारले गढ़चुमुक क्षेत्रमा अवस्थित होटलको हेरचाह गर्दै आइरहेका थिए। यसै होटललाई लिएर उनकी सौतेनी आमा र बहिनीसित लामो समयदेखिकै सम्पत्ति विवाद भइरहेको थियो।
प्रोसेनजीत काड़ारले शनिवार बताए, गए शुक्रवार राती उनकी सौतेनी आमा र बहिनी लगभग 50 जना मानिसहरूलाई लिएर उनको होटलमा आए अनि उनलाई मरूञ्जेल कुटे साथै चक्कु देखाएर बलजफ्ती वाहनमा बसाएर अपहरण गर्ने चेष्टा गरे। प्रोसेनजीत अनुसार हावड़ाको बेलपोका क्षेत्रका एकजना प्रमोटरको पनि यस सम्पूर्ण घटनामा भूमिका रहेको छ। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले प्रोसेनजीतलाई मुक्त गरायो।
घटनापछि 50 जनाभन्दा अधिक मानिसहरूलाई जाँचबुझको लागि हिरासतमा लिइयो जसमध्ये सौतेनी आमा, बहिनी र प्रमोटर सहित 18 जना मानिसहरूलाई पक्राउ गरिएको छ।
पक्रा परेपछि प्रोसेनजीतकी सौतेनी बहिनीले भनिन्, “यो हाम्रो सम्पत्ति हो, तर हामीलाई यहाँ पस्न दिरहेको छैन। पुलिसले नियोजित रूपमा हामीलाई फसाइरहेको छ।”
यता प्रोसेनजीत काड़ारले भने, “पिताको निधनपछि मैले पनि होटलको काम सम्हालिरहेको छु। उनीहरू बजलफ्ती यसमा कब्जा गर्न चाहन्छन्। ममाथि कुटपिट गरियो, गलामा चक्कु राखेर कारमा बसायो। मेरी बहिनीले थानामा सूचना दिएपछि पुलिसले आएर मलाई बचायो।”
यस घटनामा अर्को चाखलाग्दो मोड़ के छ भने मानिसहरू सवार भएर आएका वाहनहरूका चालकहरूको दाबी छ, उनीहरूलाई होटलमा ल्याउनुको साँचो कारण बताइएको थिएन। केही महिलाहरूले पनि भने, उनीहरूलाई मीटिंगको नाममा यहाँ ल्याइएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा