12औं वर्ल्ड स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनशिपमा राज्यका 20 जना खेलाडीले भाग लिने
12औं वर्ल्ड स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनशिपमा राज्यका 20 जना खेलाडीले भाग लिने


गान्तोक, 05 जुलाई (हि.स.)। सिक्किम स्ट्रेन्थ लिफ्टिङ एसोसिएशनका 20 जना खेलाडीहरूले थाइल्याण्डमा आयोजना हुने 12औं वर्ल्ड स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनशिप 2025 मा भाग लिने भएका छन्। उक्त अन्तरराष्ट्रिय स्तरको च्याम्पियनशिपमा भारतका 56 जना खेलाडीहरूले भाग लिनेछन्, जसमा सिक्किमबाट 20 जना खेलाडीहरू रहेका छन्। उक्त जानकारी संस्थाका कार्यकारी अध्यक्ष एलेन तार्गेनले आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा दिए।

उनले थाइल्याण्डको पटायामा आगामी 16 देखि 19 जुलाईसम्म 12औं वर्ल्ड स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनशिप 2025 आयोजना भइरहेको बताए। यस प्रतियोगितामा सिक्किमबाट देशलाई प्रतिनिधित्व गर्दै 20 जनाले भाग​ लिइरहेको उनले जानकारी गराए। 20 जनामा 11 जना महिला प्रतिभागी छन् भने 9 जना पुरुष प्रतिभागी सामेल छन्। उनले सिक्किमको राज्य टोलीलाई संस्थाका प्रमुख प्रशिक्षक एवं खेलाडी पेमा दोर्जी भोटियाले नेतृत्व गर्ने बताए।

कार्यकारी अध्यक्ष तार्गेनले स्ट्रेन्थ लिफ्टिङ ओलम्पिक खेलहरूमा सामेल नरहे तापनि मुख्यमन्त्री प्रेमसिंह तामाङले कुनै प्रकारको भेदभाव नगरि सबै खेलाडीहरूलाई समान रूपले सहायता प्रदान गरिरहेकोमा संस्थाको तर्फबाट कृतज्ञता प्रकट गरे। उनले आगामी नोभेम्बर महिनामा संस्थाले सिक्किममा राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने जानकारी गराए।

यस अतिरिक्त, उनले पत्रकार सम्मेलनमा उपस्थित संस्थाका संस्थापक अध्यक्ष एवं एसकेएम पार्टीको खेलकुद शाखाका अध्यक्ष रिन्जिङ वाङ्ग्याल भोटियाको ध्यान आकर्षित गर्दै सरकारी कर्मचारीहरूले तलब बिना विदाको सुविधा पाए प्रतियोगिताहरूमा भाग लिन धेरै सहयोग पुग्ने बताए।

यसैगरी, प्रमुख प्रशिक्षक पेमा दोर्जी भोटियाले यसपाली सिक्किम राज्य टोलीमा महिला प्रतिभागीहरूको संख्या धेरै रहेको बताउॅंदै यो महिला सशक्तिकरणको एउटा उदाहरण रहेको बताए। उनले वर्तमान सरकारको खेल क्षेत्रमा राम्रो नीतिका कारण खेलाडीहरूको संख्या लगातार बढिरहेको छ भने। उनले राज्यका खेलाडीहरूलाई शुभकामना दिॅंदै खेलाडीहरूले राज्य र देशको नाम रोशन गरेर फर्किने अवश्वास व्यक्त गरे।

संस्थापक अध्यक्ष रिन्जिङ वाङ्ग्याल भोटियाले वर्तमान सरकारमा खेलकुद क्षेत्र फस्टाएर गइरहेको बताए। उनले यस संस्थालाई यहॉंसम्म ल्याउने पेमा दोर्जी भोटिया, एलेन तार्गेन लगायत संस्थाका अन्य पदाधिकारीहरूको प्रयासको सराहना गरे। सरकारी कर्मचारीहरूको निम्ति तलब बिना विदाको विषयमा बोल्दै यो विषय मुख्यमन्त्री समक्ष राख्ने र मुख्यमन्त्रीबाट सकारात्मक प्रतिक्रिया आउने आशा व्यक्त गरे। उनले राज्य टोलीका सबै खेलाडीहरूलाई प्रतियोगितामा राम्रो प्रदर्शनको निम्ति शुभकामना दिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande