राइजिङ सन स्पोर्टिङ्ग क्लबको कराते खेलाडी नानीहरुको बेल्ट वितरण कार्यक्रम सम्पन्न
राइजिङ सन स्पोर्टिङ्ग क्लबको कराते खेलाडी नानीहरुको बेल्ट वितरण कार्यक्रम सम्पन्न


खरसाङ, 31 अगस्त (हि.स.)। खरसाङको गिद्ध पहाडमा अवस्थित राइजिङ सन स्पोर्टिङ्ग क्लब शितो कराते डो एसोसिएशनको आयोजनामा आज बेल्ट वितरण साथै कराते खेलाडी नानीहरुको अपग्रेड कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रम राइजिङ सन स्पोर्टिङ्ग क्लबको निर्देशक एवं मुख्य प्रशिक्षक अमित छेत्रीको सक्रियतामा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सेक्रेड हार्ट स्कूल सिलगढीका निर्देशक अनिल गुप्ता उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा प्रेमेन्द्र गुरूङ, अञ्जय छेत्री, खरसाङ महाविद्यालयका प्राध्यापकद्वय डा दावा शेर्पा र दिपेन शेर्पा, शिक्षिका रूकशाना बानु, शिक्षक देवराज थापा लगायत अन्यहरु उपस्थित रहेका थिए।

कार्यक्रमलाई शिहान मिराज लेप्चा, मुख्य अतिथि अनिल गुप्ता, अञ्जय छेत्री, प्रेमेन्द्र गुरूङ, हनोक थापा आदिले सम्बोधन गरेका थिए। यसै कार्यक्रममा अमित छेत्रीको प्रशिक्षणमा रहेका जम्मा 85 जना नानीहरुलाई विभिन्न बेल्टहरु वितरण गरियो। यसमा कराते खेलाडी नानी प्रथम छेत्रीले ब्ल्याक बेल्ट प्राप्त गरेका छन्। सबै कराते खेलाडी विद्यार्थी नानीहरुलाई अतिथिहरुका बाहुलीबाट विभिन्न बेल्टहरु साथै प्रमाण पत्रहरु वितरण गरियो।

उल्लेखनीय छ, अमित छेत्रीले 2011 देखि नै राइजिङ सन स्पोर्टिङ्ग क्लब गिद्ध पहाडमा सञ्चालन गर्दै आइरहेका छन्। उनले ज्याप डोभियल स्कूल घैयाबारी, सेक्रेड हार्ट स्कूल सिलगढी र ग्लेन हिल पब्लिक स्कूल खरसाङमा‌ पनि कराँते प्रशिक्षकको कार्य गर्दै आइरहेका छन्। उनले नानीहरुलाई कराते प्रशिक्षण दिनुका साथै विभिन्न सामाजिक कार्यहरु पनि लगातार रुपमा गर्दै आइरहेका छन्। उनले अहिले 400 जना भन्दा बढी नानीहरुलाई कराते प्रशिक्षण दिने कार्य गरिरहेको जानकारी प्राप्त भएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande