तीनधारेमा स्व पेम्बा मोक्तानको स्मृतिमा सामुहिक लोक नृत्य प्रतियोगिता सम्पन्न
तीनधारेमा स्व पेम्बा मोक्तानको स्मृतिमा सामुहिक लोक नृत्य प्रतियोगिता सम्पन्न


खरसाङ, 31 अगस्त (हि.स.)। तीनधारेको क्रिकेट बजारस्थित ग्राम कल्याण समितिको आयोजनामा स्व पेम्बा मोक्तानको स्मृतिमा आज सामुहिक लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ। तीनधारेको महात्मा गाँधी हलमा सम्पन्न भएको उक्त सामुहिक नृत्य प्रतियोगिता कार्यक्रमको अध्यक्षता ग्राम कल्याण समितिका सभापति जेबी गुरुङले गरेका थिए भने तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री प्रमुख अतिथि थ्ज्ञिए।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा शिशिर राई, घैयाबारी ग्राम पञ्चायत दुईकी पञ्चायत प्रधान भगवती प्रधान, पञ्चायत सदस्यहरु, पञ्चायत समिति सदस्याहरु, गोपाल योञ्जन सङ्गीत सम्मान प्रापक सङ्गीतकार बरुण रसाइली र गीतकार सुकुमार बराईली, गौरव मञ्च तीनधारेका संयोजक सुप्रेम छेत्री लगायत अन्यहरु उपस्थित रहेका थिए।

युवराज सुन्दासले सञ्चालन गरेको कार्यक्रममा लोक नृत्य प्रतियोगिताको निर्णायकहरूमा अरुणा सुन्दास र अनुपमा घतानी उपस्थित थिए। अतिथिहरुका बाहुलीबाट सरस्वती माताको तस्वीर र स्व पेम्बा मोक्तानको तस्वीरमा धुप दीप प्रज्ज्वलन गरी थालिएको कार्यक्रममा गायक राकेश लामा, गायक महेश सेवा र कर्म मोक्तानले युगल गीत प्रस्तुत गरेका थिए।‌

ग्राम कल्याण समितिका सचिव सञ्जीव मंगरले स्वागत सम्भाषण राखेको कार्यक्रममा सारेगपम लिटल च्याम्प नेपालमा फाइनलमा पुग्न सफल पानीघट्टा निवासी श्रेयासीले पनि प्रस्तुति दिए। कार्यक्रममा तीनधारे क्षेत्रका पाँचवटा समाजका नानीहरुले सामुहिक लोक नृत्य प्रतियोगितामा भाग लिएका‌ थिए‌, जसमा प्रथम जनसेवा संघ राजबारी, दोस्रो युवा ज्योति संघ सत्र माइल‌ र तेस्रो ग्राम कल्याण समिति क्रिकेट बजार भए भने चौथो गुराँस संघ र पाँचौं मित्र संघ गोलाई पाखा भए।

यसै कार्यक्रममा क्यारिङ ह्याण्डका शिशिर राईलाई ग्राम कल्याण समितिको तर्फबाट सम्मान जनाइयो।‌ यसैगरी, समाजसेवी सतीश राई र यस वर्षको उच्चत्तर माध्यमिक परीक्षामा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने समाजका विद्यार्थी क्षितिज गुरुङलाई पनि सम्मान जनाइयो।

कार्यक्रममा प्रमुख अतिथि सभासद नवराज छेत्री र सभाध्यक्ष जेबी गुरूङले सम्बोधन गरेका थिए। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै ग्राम कल्याण समिति क्रिकेट बजारका सचिव सञ्जीव मंगरले ग्राम कल्याण समिति क्रिकेट बजारको आयोजनामा स्व पेम्बा मोक्तानको स्मृतिमा सामुहिक लोक नृत्य प्रतियोगिता आयोजना गरिएको र यस कार्यक्रमलाई स्व पेम्बा मोक्तानको परिवारले प्रायोजना‌ गरेको जानकारी गराए। उल्लेखनीय छ, तीनधारे क्षेत्रका समाजसेवी तथा वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेका पूर्व सभापति पेम्बा मोक्तानको‌ निधन 22 नोभेम्बर, 2014 मा भएको थियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande