एसकेएम पार्टीको जिल्लास्तरीय समन्वय सभाको समापन
एसकेएम पार्टीको जिल्लास्तरीय समन्वय सभाको समापन


गान्तोक, 03 सेप्टेम्बर (हि.स.)। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा तथा पार्टी मुख्यालयको समन्वयमा एसकेएम पार्टीले जिल्लास्तरीय समन्वय सभा धारावाहिक रूपमा आयोजना गर्दै आइरहेको थियो भने आज गान्तोक जिल्लाको सभापछि समापन भएको छ। समन्वय सभा साङ्गठनिक प्रकोष्ठका उपाध्यक्ष प्रभारी ओटी लेप्चा र अध्यक्ष ललित शर्माको अगुवाइमा भइरहेको थियो।

गान्तोक जिल्लाको सभामा आज सम्बन्धित क्षेत्र विधायक, जिल्ला प्रभारीहरू, समष्टि अध्यक्ष, महासचिव अनि ओएसडी-हरूको उपस्थिति रहेको जानकारी एसकेएम प्रचार प्रसार अध्यक्ष रञ्जना प्रधानले विज्ञप्तिमा दिएकी छन्। अन्तिम दिनको बैठक गान्तोक जिल्लाको निम्ति लालबजार पार्टी कार्यलयमा सम्पन्न भयो।

पार्टीका कार्यवाहक अध्यक्ष कुङ्गा निमा लेप्चाको सभाध्याक्षतामा सम्पन्न सभामा पार्टीलाई तृणमूल स्तरबाट मजबुत बनाउन विभिन्न महत्त्वपूर्ण पक्षमाथि छलफल गरियो। यस समन्वय बैठकमा विशेषगरी पार्टीलाई मजबुत बनाउँदै प्रत्येक कार्यकर्ता र एकाइलाई एकीकृत ढाँचामा अघि बढाउनु पर्ने, जिल्ला, क्षेत्र र केन्द्रिय तहबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ र प्रभावकारी बनाउनु पर्ने विषयमा छलफल भयो।

बैठकमा विभिन्न महत्वपूर्ण विषयमा विस्तृत छलफल भयो, जसमा पार्टीको हालसम्मको कार्यशैली र उपलब्धिहरूको समीक्षा आदि समावेश थिए। बैठकमा विभिन्न वक्ताहरूले आफ्नो मन्तव्य राख्दै संगठनलाई अझ मजबुत बनाउन एकजुट भएर काम गर्नुपर्ने कुरामा जोड दिए। वक्ताहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङको नीतिगत नेतृत्वमा पार्टीलाई अझ सबल बनाउन एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाए।

सम्बन्धित समष्टिका क्षेत्र विधायकहरूले क्षेत्र स्तरमा भइरहेको विकासका कार्य र जनताको अपेक्षाबारे अनुभव साझा गरे भने उपाध्यक्ष (प्रभारी) र महासचिवहरूले पार्टीभित्र पारदर्शिता र कार्यक्षमताको महत्वमाथि प्रकाश पारे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande