
मिरिक, 16 अप्रेल (हि.स.)। खरसाङ विधानसभा समष्टिका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा उम्मेदवार अमर लामाको पक्षमा आज मिरिक बजारमा चुनाउ प्रचार गरिएको छ। मिरिक नगरपालिका अध्यक्ष एवं हिल तृणमूल कांग्रेस चेयरम्यान एलबी राईको अगुवाईमा बिहिवार मिरिक बजार क्षेत्रमा चुनाउ प्रचार गरियो।
अध्यक्ष राईले मिरिक बजार क्षेत्रका प्रत्येक दोकानमा पुगेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा उम्मेदवार अमर लामालाई टर्च लाइटकाे चिह्नमा भोट दिएर जिताउन आह्वान् गरे। उनले आफ्ना समर्थकहरुका साथमा प्रत्येक दोकानमा पुगेर मानिसहरुलाई भेट्दै चुनाउ चिह्न टर्च लाइट पनि प्रदर्शित गरेका थिए।
चुनाउ प्रचार विषयमा पत्रकारहरुसित कुराकानी गर्दै मिरिक नगरपालिकाको चेयरम्यान राईले भने, यसपाली भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका उम्मेदवार अमर लामाले सय प्रतिशत जीत हासिल गर्नेछ। विगतमा पनि हाम्रा उम्मेदवारहरूले निश्चितरुपमा जित्ने थिए, तर हाम्रै कमजोरीले गर्दा हार भयो। तर, यसपाली हामी खटेका छौं र हाम्रो जित निश्चित छ।
उनले गृहमन्त्री दार्जिलिङ नआएको विषयमा सोधिएको प्रश्नको उत्तरमा भने, भारतीय जनता पार्टीले जहिले ढाँटेर मात्र भोट माग्ने बानी बसेको छ र यसपाली भाजपाको हार निश्चित छ।
हिन्दुस्थान समाचार / हनोक