बाग्राकोट, 04 अगस्त (हि.स.)। सुपरिचित साहित्यकार बिर्ख खड्का डुवर्सेलीलाई 'डुवर्स गौरव सम्मान-२०२५' अर्पण गरिने भएको छ। डुवर्सको प्रतिष्ठा र गौरवलाई उच्च राख्न लामो समयदेखि साहित्य क्षेत्रमा उनले दिएको योगदानको निम्ति यो पुरस्कार अर्पण गरिन लागेको डुवर्स नेपाली साहित्य विकास समितिका उपाध्यक्ष्य रूपेश शर्माले जनाएका छन्।
शनिवार बसेको एउटा महत्त्वपूर्ण बैठकमा डुवर्स नेपाली साहित्य विकास समितिले यो निर्णय लिएको बताइएको छ। बाग्राकोटकी विशिष्ट महिला नेतृ कृष्णमाया श्रेष्ठका नाममा उनका सुयोग्य पुत्र कवि अनन्त श्रेष्ठ एवं परिवारद्वारा स्थापित 'कृष्णमाया श्रेष्ठ स्मृति केन्द्र', बाग्राकोटले २०२३ देखि यो पुरस्कार प्रायोजन गरेको हो, जो विकास समितिमार्फत अर्पण गरिन्छ। पुरस्कारमा नगद राशि, स्मृति चिन्ह, अङ्ग-वस्त्र र प्रशस्ति-पत्र सम्मिलित रहेको छ।
आगामी २४ अगस्तको दिन मध्य डुवर्सको लुकसानमा भव्य रूपमा आयोजन हुने भाषा दिवस समारोहमा डुवर्सेलीलाई 'डुवर्स गौरव सम्मान'-द्वारा अलङ्कृत गरिनेछ। यसअघि पहिलो 'डुवर्स गौरव सम्मान' सुप्रसिद्ध इतिहासकार सोनाम बी. वाङ्गेल (२०२३) र दोस्रो सम्मान चर्चित गायक इन्द्रजीत मिजार (२०२४)-लाई अर्पण गरिएको थियो।
१ अक्टोबर, १९५४ मा डुवर्सको कटलगुड़ीमा जन्मिएका बिर्ख खड्का डुवर्सेली मूलत: हिन्दी भाषामा लेख्ने विशिष्ट नेपाली साहित्यकार हुन्। उनले बी.एससी, बी.एड, एमए, एलएलबी गरेका छन्। डुवर्सप्रतिको गहिरो प्रेम र लगावका कारण उनले आफ्नो नामको पछि 'डुवर्सेली' उपनाम जोड़ेका छन्। उनको पहिलो हिन्दी कविता 'कागज की कड़की' सन् १९७१ मा माधुरी पत्रिकामा छापिएको थियो। उनका दर्जनौं रचनाहरू हिन्दीका स्तरीय राष्ट्रिय पत्रिकाहरूमा प्रकाशित छन्। अङ्ग्रेजीमा पनि उनका अनेकौं लेखहरू प्रकाशित छन्।
उनले गिर्मी शेर्पाको कविता सङ्ग्रह 'हिपोक्रिट चाँप-गुराँस'-को हिन्दीमा (१९९९) अनि जस योञ्जन 'प्यासी'-को कविता सङ्ग्रह 'शान्ति सन्देह' (२०१५)-को हिन्दीमा अनुवाद गरेका छन्। दुवै साहित्य अनुवाद पुरस्कार प्रापक कृति हुन् अनि यिनको प्रकाशन पनि साहित्य अकादमीले नै गरेको छ। यसैगरी, उनले साहित्य अकादमीको अनुबन्धमा बंकिमचन्द्र च्याटर्जीको मोनोग्राफ नेपालीमा अनुवाद (१९९६) गरेका छन्। उनले प्रसिद्ध कवि वैरागी काइँलाका कविताहरूको हिन्दीमा अनुवाद तथा सम्पादन (२००१) गरेका छन्।
डुवर्सेलीले सयभन्दा अधिक नेपाली कथा र कविताहरू हिन्दीमा अनुवाद गरेका छन्, जो साहित्य अकादमीको पत्रिका 'समकालीन भारतीय साहित्य', भारतीय ज्ञानपीठ, कादम्बिनी आदि प्रसिद्ध हिन्दी पत्रिकाहरूमा प्रकाशित छन्। एक कुशल अनुवादका रूपमा उनको परिचय स्थापित छ। डुवर्सेलीको एउटा हिन्दीमा मौलिक समालोचना सङ्ग्रह 'नेपाली साहित्य विमर्श' (२०१७) प्रकाशित छ। यसै कृतिका लागि उनलाई भारत सरकारको मानव संसाधन विकास मन्त्रालयअन्तर्गत हिन्दी निदेशालयले सन् २०२० मा 'हिन्देत्तर लेखक सम्मान' प्रदान गरेको थियो।
उनलाई गुजरातबाट 'साहित्य सरस्वती सम्मान' र मरिशसबाट 'हिन्दी गौरव सम्मान' जस्ता राष्ट्रिय/अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त भइसकेका छन्। यस्ता पुरस्कारले उनको छवि गैर-नेपालीभाषी संसारमा स्थापित रहेको बुझ्न सकिन्छ। उनले धेरै राष्ट्रिय स्तरका कार्यशालाहरूमा विशेषज्ञका रूपमा सहभागिता जनाएका छन्। पुरस्कार अलङ्करण समारोह होस् या साहित्यिक कार्यक्रमहरू, डुवर्सेलीले हरेक ठाउँमा नै 'डुवर्स'-को परिचय राख्दै आएका छन्।
बिर्ख खड्का डुवर्सेलीलाई 'डुवर्स गौरव सम्मान' अर्पण गरिने घोषणा हुनासाथ सामाजिक सञ्जालमा उनलाई विशिष्ट साहित्यकारहरूले बधाई तथा शुभकामना टक्राइरहेका छन्। आफ्नो नामैमा 'डुवर्सेली' बोकेर हिँड्ने व्यक्तिको डुवर्सप्रतिको संवेदनशीलता पुन: एकपटक चर्चामा आएको छ। डुवर्स नेपाली साहित्य विकास समितिका अध्यक्ष्य तथा वरिष्ठ साहित्यकार अबीर खालिङले यो घोषणाले पुरस्कारको गरिमा अझ बढ़ेर गएको मन्तव्य गरेका छन्।
यसैगरी, सङ्गठनका महासचिव रविन खवासले डुवर्सेलीले आफ्ना कर्मद्वारा डुवर्सको गौरवलाई माथि उठाएको जिकिर गरे। सम्पूर्ण लुकसान नै आगामी २४ अगस्तमा आयोजन हुने भाषा दिवसको तयारीमा जुटेको उनले जानकारी दिए।
हिन्दुस्थान समाचार / बिशाल