स्टाफ र सब स्टाफहरुको वेतन बढोत्तरीलाई लिएर त्रिपक्षीय सभा सम्पन्न
स्टाफ र सब स्टाफहरुको वेतन बढोत्तरीलाई लिएर त्रिपक्षीय सभा सम्पन्न


खरसाङ, 05 अगस्त (हि.स.)। पश्चिम बंगाल सरकारको श्रम विभागको तर्फबाट उत्तर बंगालका सबै चियाबारीहरुमा कार्यरत् स्टाफ र सब स्टाफहरुको वेतन वृद्धिलाई लिएर त्रिपक्षीय सभा सम्पन्न भएको छ। उक्त त्रिपक्षीय सभामा पहाड तराई डुवर्स क्षेत्रका सबै ट्रेड युनियनका प्रतिनिधिहरू र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनले भाग लिए।

सभामा चियाबारीहरुमा कार्यरत् स्टाफ र सब स्टाफहरुको वेतन 60 प्रतिशतले बढोत्तरी हुनुपर्छ भनी माग राखिएको हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रिय समितिको सभापति जेबी तामाङले बताएका छन्। सभापछि पत्रकारहरुलाई सम्बोधन गर्दै तामाङले चियाबारीमा स्टाफ र सब स्टाफहरुले दैनिक 250 रुपियाँमा नै काम गर्दै आएको र पहाडमा स्टाफ र सब स्टाफहरुको संख्या घट्दै गएको कुरा सभामा राखेको जानकारी गराए।

उनले पहाडका चियाबारीहरुमा मालिक पक्षले नयाँ कानुन ल्याउन खोजेको सबै युनियनहरुले एकसाथ विरोध जनाएको पनि बताएका छन्। जेबी तामाङले वेतन 60 प्रतिशतले बढोत्तरी हुनुपर्ने र यो तीन वर्षको हुनुपर्ने माग राखिएको, तर मालिक पक्षले चार वर्षको सम्झौता गर्नुपर्ने बताए पनि सबै युनियनहरुले यसको विरोध जनाएको पनि बताएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande