दार्जिलिङका सांसद राजु विष्टले केन्द्रिय गृहमन्त्री अमित शाहसँग भेट गरे
दार्जिलिङका सांसद राजु विष्टले केन्द्रिय गृहमन्त्री अमित शाहसँग भेट गरे


खरसाङ, 06 अगस्त (हि.स.)। दार्जिलिङका सांसद राजु विष्टले बुधवार नयाँ दिल्लीमा देशका गृहमन्त्री अमित शाहसँग भेट गरेर दार्जिलिङ पहाड़, तराई अनि डुवर्सका जनताको तर्फबाट उनलाई भारतको सबैभन्दा लामो समयसम्म सेवा दिने गृहमन्त्री बनेकोमा बधाई दिए। उक्त जानकारी सांसदले आज नयाँ दिल्लीबाट गराएका छन्।

सांसदले जनाए अनुसार, यस भेटमा उनले आफ्नो क्षेत्रसँग सम्बन्धित विभिन्न प्रशासनिक तथा राजनीतिक विषयहरूमा गृहमन्त्री शाहसँग छलफल गरे। उनले विशेष गरी दार्जिलिङ पहाड़, तराई अनि डुवर्समा न्याय, विकास र शान्ति सुनिश्चित गर्नका लागि स्थायी राजनीतिक समाधानको प्रक्रिया तीव्र पार्नु आवश्यक रहेको कुरामाथि जोड दिए।

यस क्षेत्रका जनताको दीर्घकालीन आकांक्षाहरूलाई सम्बोधन गर्न केन्द्र सरकारको निरन्तर समर्थन र प्रतिबद्धताप्रति आभार व्यक्त गर्दै शाहलाई यस दिशामा तीव्र पाइला चालीदिन उनले आग्रह गरेको पनि बताएका छन्। तिनले अझ जनाए अनुसार, गृहमन्त्री शाहले हाम्रो क्षेत्रको विशेष पहिचान र आकांक्षालाई सम्मान गर्ने संवैधानिक ढाँचा निर्माण गर्ने दिशामा सरकार प्रतिबद्ध रहेको आश्वासन दिए।

सांसद विष्टले बैठक गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्व अनि गृहमन्त्री अमित शाहको मार्गदर्शनमा दार्जिलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रका जनताको उज्वल भविष्यप्रति अत्यन्त विश्वस्त र सकारात्मक रहेको पनि विश्वास व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande