खरसाङ, 06 अगस्त (हि.स.)। खरसाङ विश्वकर्मा समाजले 100 वर्ष पूरा गरेको अवसरमा शतवार्षिकी समारोह आयोजना गरिने भएको छ। यस विषयमा खरसाङमा पत्रकार सम्मेलन बोलाएर खरसाङ विश्वकर्मा समाजका पदाधिकारीहरुले शतवार्षिकी समारोह विषयमा विस्तृत जानकारी गराएका छन्।
सन् 1925 मा स्थापना भएको खरसाङ विश्वकर्मा समाजले यसपाली सय वर्ष पूरा गरेको अवसरमा खरसाङमा शतवार्षिकी समारोह अन्तर्गत विविध कार्यक्रमहरू आयोजना गरिने बताइएको छ। पत्रकार सम्मेलनलाई खरसाङ विश्वकर्मा समाजको तर्फबाट सभापति निर्मल गहतराज, सचिव केशव सिंह घतानी, सल्लाहकार गोबिन्द सिंह घतानी, मुख्य संयोजक हेमन्त दर्नाल, संजोजकहरु विनोद रसाइली, बिजय सेञ्चुरी, सुष्मा सिंह सम्बोधन गरेका थिए।
पदाधिकारीहरुले खरसाङ विश्वकर्मा समाजको शतवार्षिकी समारोह आगामी 7 दिसम्बर, 2025 मा खरसाङको सन्त अल्फन्सेस विद्यालयमा आयोजना गरिने बताएका छन्। उक्त शतवार्षिकी समारोहमा खरसाङ विश्वकर्मा समाजले एक सय वर्ष पूरा गरेको ऐतिहासिक अवसरलाई एकता, आत्मीयता, अखण्डता र सांस्कृतिक मूल्यहरूको संरक्षण र प्रतीकको रूपमा मनाउने बताएका छन्।
शतवार्षिकी समारोह अन्तर्गत खरसाङमा शोभा यात्रा, जातीय शिल्प प्रदर्शनी जसमा सुन, चाँदी, ताँबा, सिल्भर तथा फलामबाट निर्मित गर गहना, भाँडाकुँडा तथा हात हतियारदेखि मादल र अन्य शिल्प उद्योगको पनि प्रदर्शनी गरिने भएको छ। यसका साथै विश्वकर्म जातिको ऐतिहासिक दस्तावेजको रुपमा प्रकाशित स्मारिका 'आरन' को पनि लोकार्पण गरिने भएको छ। यस शतवार्षिकी समारोहको उद्देश्य 'आरनदेखि पद्यश्रीसम्म' रहेको पदाधिकारीहरुले बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक