खरसाङ, 05 अगस्त (हि.स.)। खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान सहदेव तामाङले सिंगेल चियाबगान अन्तर्गत नयाँधुरा गाउँकी सुबला देवानको घर निजी कोषबाट बनाई दिने भएको छ। उक्त घरको निर्माणको लागि आज शिलान्यास कार्य सम्पन्न गरियो।
शिलान्यासको अवसरमा टुंग सन्त मेरिज समष्टिका सभासद नुरी शेर्पा, सन्त मेरिज दुई ग्राम पञ्चायतका पञ्चायत प्रधान सहदेव तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए। पञ्चायत प्रधानले सुबला देवानको घर निजी कोषबाट निर्माण गरिदिने वाचा गर्दै आज शिलान्यास गरिएको बताए।
उनले भने, स्थानीय पञ्चायत सदस्याले लगातार रुपमा आफूलाई एकजनाको घर जीर्णावस्थामा रहेको जानकारी गराएकी थिइन्। निरीक्षण गर्दा घरको अवस्था निक्कै जीर्णावस्थामा देखेपछि आफ्नै निजी खर्चमा घर निर्माण गरिदिने निर्णय लिएको उनले बताए।
आफ्नो जीर्णावस्थामा रहेको घर निर्माण गरिदिने भएपछि लाभार्थी सुबला देवानले पञ्चायत प्रधान र सभासदलाई धन्यवाद दिएकी छन्। उनले खुशी व्यक्त गर्दै बर्खामा पानी चुहुने घरको अवस्था देखेर आफुले अनुरोध गर्नसाथ घर बनाई दिने भएकोमा धन्यवाद दिएकी छन्।
हिन्दुस्थान समाचार / हनोक