गान्तोक, 04 अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी स्वर्गीय माता हीराबेन मोदीको असाधारण मूर्ति निर्माणको लागि सिक्किमका प्रतिभाशाली कलाकार जयकुमार राईको सराहना गरेका छन्। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा उक्त जानकारी साझा गरेका छन्।
मुख्यमन्त्रीले राज्यका एक प्रतिभाशाली कलाकार जयकुमार राईले प्रधानमन्त्री नरेन्द्र मोदीबाट आफ्नी आमा स्वर्गीय हीराबेन मोदीको असाधारण मूर्तिकलाको लागि प्रशंसा प्राप्त गरेको कुरा थाहा पाउँदा साँच्चै खुशी लागेको बताएका छन्। कलाकार राई जूम सालघारी निर्वाचन क्षेत्र अन्तर्गत जमू सिस्ने निवासी पिता पर्ती बहादुर राईका सुपुत्र हुन्।
मुख्यमन्त्रीले यो सम्मान सिक्किमको लागि गर्वको क्षण रहेको र हाम्रा कलाकारहरूको उल्लेखनीय प्रतिभा र समर्पणको प्रमाण रहेको बताएका छन्। उनले कलाकार जयकुमार राईलाई शुभकामना दिॅंदै राईले आफ्नो कलात्मक यात्रामा उत्कृष्टता हासिल गर्दै राज्यलाई अझ धेरै सम्मान प्रदान गर्नेछन् र धेरैलाई प्रेरणा दिँदै अगाडि बढिरहने छन् भनी आशा व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल