गान्तोक, 04 अगस्त (हि.स.)। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको प्रचार-प्रसार र सोशल मिडिया शाखाको एक परिचयात्मक एवं समन्वय सभा आज रम्फूमा सम्पन्न भयो। पार्टीका प्रवक्ता एवं मुख्यमन्त्रीका प्रेस सल्लाहकार बिरेन्द्र तामलिङको सभाध्यक्षतामा सम्पन्न सभामा पार्टीको प्रचार-प्रसार शाखाका उपाध्यक्ष प्रभारी जेकब खालिङ, सोशल मिडिया उपाध्यक्ष प्रभारी विकास बस्नेत, प्रवक्ता कृष्ण लेप्चा, योगेन तामाङ, आईटी विभागका अध्यक्ष युवराज गुरुङ, एनबी गुरुङ, पार्टीको शीर्षस्थ पदाधिकारी लगायत पार्टीको राज्य तथा जिल्ला स्तरका प्रचार-प्रसार शाखा र सोशल मिडिया शाखाका नवनियुक्त पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
सभाको अवसरमा उपस्थित राज्य र जिल्लास्तरका पदाधिकारीहरूले अन्तरक्रिया गर्दै आ-आफ्नो सुझाउ व्यक्त गरे। सभालाई सभाध्यक्ष एवं पार्टी प्रवक्ता बिरेन्द्र तामलिङले सम्बोधन गर्दै पुराना दिनहरूमा अर्थात् विपक्षमा रहँदा पार्टीको प्रचारको क्रममा हुनेगरेका कष्ट र अवरोधहरूको सम्झना गरे। उनले कुनै पनि काम गर्दा सानो कामबाट शुरु गर्ने र आफ्नो कामप्रति प्रतिबद्ध रहे सफलता त्यही प्रतिबद्धताले दिने बताए।
यसरी नै सभामा बोल्दै प्रचार प्रसार शाखाका उपाध्यक्ष प्रभारी एवं मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले पार्टीमा पद पाउनु पार्टीले दिएको सम्मानको हो भने। जेकब खालिङले भने, “पार्टीको प्रचार प्रसार र सोशल मिडिया शाखामा रहेर काम गर्ने पदाधिकारीहरू आफू जलेर अरुलाई उज्यालो दिने क्यान्डल जस्तै हुन्। पार्टीले कसैलाई पद दिएको खण्डमा आफ्नो धरातलीय अवस्था बिर्सनु हुँदैन। कुनै पनि राजनीतिक पार्टीलाई बलियो बनाउने मूल खाँबो नै प्रचार प्रसार अनि सोशल मिडिया शाखा भएकोले यस शाखामा बसेर काम गर्न चुनौतीपूर्ण हुने बताए।
सम्बोधन गर्ने क्रममा शोसल मिडया उपाध्यक्ष प्रभारी विकास बस्नेतले एसकेएम पार्टी विपक्षमा हुँदा प्रचार प्रसारको काम गर्दा हुने गरेको दुख-कष्टलाई सम्झिए। उनले वर्तमानमा एसकेएम पार्टी सरकारमा आउँदा पनि पार्टीको प्रचार प्रसार र सोशल मिडियाकर्मीले उत्तिकै डटेर काम गर्दै आइरहेको बताए। पार्टीलाई अझ सशक्त बनाउनका लागि नेता एवं पार्टी अध्यक्षको निर्देशलाई पालन गरी अनुशासनात्मक ढंगमा काम गर्न आह्वान गरे।
कार्यक्रममा प्रचार प्रसार शाखाकी अध्यक्ष रञ्जना प्रधानले धन्यवाद ज्ञापन पेश गरेको जानकारी प्रचार प्रसार महासचिव अभिषेक शर्माले आज प्रेस विज्ञप्तिमा दिएका छन्।
हिन्दुस्थान समाचार / बिशाल