कालेबुङ, 01 सेप्टेम्बर (हि.स.)। पहाडकी छोरी डा. प्रीति घतानी पश्चिम बङ्गालको राजधानी कोलकातास्थित रानी बिरला कन्या महाविद्यालयमा उप-प्राचार्य पदमा नियुक्त भएकी छन्। महाविद्यालयको आन्तरिक व्यवस्थालाई अझ प्रभावकारी बनाउन डा. घतानीलाई पश्चिम बङ्गालको शिक्षा मन्त्रालयले गत शुक्रवार एउटा सरकारी अधिसूचना जारी गरेर नियुक्त गरेको जानकारी प्राप्त भएको छ।
डा. प्रीति घतानी कालेबुङको बाघधारा निवासी पिता स्व. नारदमणि घतानी अनि माता स्व. निता घतानीकी सुपुत्री हुन्। राजनीति विज्ञानमा पीएचडी गरेकी डा. प्रीति घतानीले आफ्नो शिक्षण यात्रा कालेबुङको एक प्रतिष्ठित स्कूल सन्त फिलोमिना पाठशालाबाट प्रारम्भ गरेकी थिइन्। आफ्नो प्राध्यापकीय यात्राका क्रममा उनले सेन्ट जोसेफ महाविद्यालय नर्थ पोइन्ट दार्जिलिङ अनि खरसाङ महाविद्यालयमा पूर्णकालिक सेवा दिएकी थिइन्।
डा. घतानी रानी बिरला कन्या महाविद्यालयमा गत एक दशकभन्दा धेरै समयदेखि कार्यरत थिइन्। डा. प्रीति घतानी यति प्रतिष्ठित पदमा नियुक्त हुनु पहाडवासीहरूको लागि सुखद् समाचार हो। पहाडबाट आफन्त लगायत धेरै पहाडवासीले उनलाई उप-प्राचार्य बनेकामा बधाई-शुभकामना पनि दिइरहेका छन्।
हिन्दुस्थान समाचार / हनोक