गान्तोक, 01 सेप्टेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किम महिला मोर्चाले बिहारमा कांग्रेस-राजदको र्यालीमा प्रधानमन्त्री नरेन्द्र मोदी र उनकी स्वर्गीय आमामाथि गरिएको अपमानजनक र निन्दनीय टिप्पणीको कडा शब्दमा निन्दा गरेको छ। प्रदेश भाजपा महिला मोर्चा महासचिव सृजना छेत्रीले कांग्रेस नेतृत्वधीन इण्डी गठबन्धनको लज्जास्पद कार्य बिहारको संस्कृति र मूल्यमान्यताको प्रत्यक्ष अपमान हो भन्दै यसले सभ्यता र सम्मानप्रतिको उनीहरूको पूर्ण उपेक्षालाई प्रकट गर्दछ भनेकी छन्।
महासचिव छेत्रीले आज जारी प्रेस विज्ञप्तिमा भनेकी छन्, राष्ट्रले तीन पटक वंशवादी राजनीतिलाई अस्वीकार गरेको छ र एक साधारण पृष्ठभूमिबाट आएका नेता नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको रूपमा छनौट गरेको छ। यो जनादेश स्वीकार गर्न असमर्थ कांग्रेसले राष्ट्रविरोधी बयानबाजीको सहारा लिन्छ, हाम्रा बहादुर सशस्त्र सेनाको निन्दा गर्छ, र अब प्रधानमन्त्री र उनको परिवारमाथि घृणित व्यक्तिगत आक्रमण गरिरहेको छ। यस्तो आचरणले उनीहरूको गरिब विरोधी, महिला विरोधी विचारधारा र राष्ट्रलाई आफ्नो पारिवारिक अधिकारको रूपमा व्यवहार गर्ने जुनूनलाई उजागर गर्दछ।
उनले अझ भनेकी छन्, भाजपा महिला मोर्चा राहुल गान्धी र उनका वंशवादी समूहहरूले नेतृत्व गरेको यो घृणित व्यवहारको निन्दा गर्दछ। हामी यस दुर्भावनापूर्ण अभियानको लागि तत्काल माफीको माग गर्दछौं, जसले हाम्रो राष्ट्रको नेतृत्व र लोकतान्त्रिक मूल्यमान्यताको अपमान गर्दछ। भारतका जनताले हाम्रो मूल्यमान्यता र मर्यादालाई कमजोर पार्ने यस्ता घृणित कार्यहरूलाई सहने छैनन्।
हिन्दुस्थान समाचार / बिशाल