एसडीएफ पार्टीको नाम्ची जिल्लास्तरीय सभा सम्पन्न
एसडीएफ पार्टीको नाम्ची जिल्लास्तरीय सभा सम्पन्न


गान्तोक, 01 सेप्टेम्बर (हि.स.)। एसडीएफ पार्टीको नाम्चीस्थित जिल्ला कार्यालयमा पार्टीका सल्लाहकार लक्ष्मी प्रसाद छेत्रीको अध्यक्षतामा आज एक महत्त्वपूर्ण सभा सम्पन्न भयो। सभाले हालै नामथाङ-रातेपानी निर्वाचन क्षेत्रका विपक्षी राजनीतिक दलका दुई युवालाई पुलिस प्रशासनले पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै यसलाई मानवअधिकार हननको उदाहरण ठहर गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

एसडीएफले जनताको आवाजलाई डर देखाएर दबाउन हुॅंदैन भन्दै प्रहरी प्रशासनको यस्तो रवैयाको घोर विरोध जनाएको छ। सभामा जिल्लाका सम्पूर्ण सक्रिय कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। सभामा पार्टीका विभिन्न कार्यक्रमहरू कस्तो प्रकारले सञ्चालन भइरहेका छन् भन्ने विषयमा विस्तृत जानकारी लिइएको बताइएको छ।

साथै, क्षेत्रीय स्तरसम्म पुगेर सक्रियतापूर्वक काम गर्नुपर्ने आवश्यकतामाथि सभाले जोड दिएको छ। सभाले नाम्ची जिल्लाको मजदुर मोर्चाको प्रतिनिधि रूपमा नाम्ची–सिङ्गिथाङ निवासी बिमल राईलाई चयन गरेको जानकारी गराइएको छ।

खुला बहसमा भाग लिँदै नामथाङ निर्वाचन क्षेत्र निवासी लाक्पा तामाङ, पोखलोक–कामराङ निवासी रिचार्ड छेत्री र मल्ली निर्वाचन क्षेत्र निवासी जीवन राईले आफ्ना मन्तव्यहरू प्रस्तुत गरे। चेली प्रभारी अनिता गौतम, युवा प्रभारी डीके राई तथा युवातर्फबाट सुमन चामलिङले पार्टीका वर्तमान कार्ययोजना प्रस्तुत गरेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande