गान्तोक, 01 सेप्टेम्बर (हि.स.)। सत्तारुढ एसकेएम पार्टीको पाकिम जिल्लास्तरीय समन्वय सभा आज पाकिमको सामुदायिक हलमा सम्पन्न गरियो। मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा आयोजित उक्त सभाको अध्यक्षता एसकेएमका कार्यकारी अध्यक्ष केएन लेप्चाले गरेका थिए। गेजिङ, सोरेङ र नाम्ची जिल्लापछि आज पाकिममा समन्वय सभा भएको पार्टी प्रचार प्रचार अध्यक्ष रञ्जना प्रधानले प्रेस विज्ञप्तिमा बताएकी छन्।
समन्वय सभामा पाकिम जिल्लाका निर्वाचन क्षेत्रका विधायकगण, जिल्ला प्रभारीहरू, सीएलसी अध्यक्षहरू तथा अन्य पदाधिकारीहरू र कार्यकर्ताहरू उपस्थित थिए। बैठकमा तृणमूल स्तरबाट पार्टीलाई पुनरुत्थान गर्ने उद्देश्यले विभिन्न महत्वपूर्ण पक्षहरूलाई सम्बोधन गरिएको थियो। पार्टीको जग बलियो बनाउन र जनतामाझ यसको संगठनात्मक संरचना, पहुँच र विश्वसनीयता बढाउने उद्देश्यका साथ राज्यव्यापी बैठकहरूको यो श्रृंखला आयोजना गरिएको बताइएको छ।
समन्वय बैठकले पार्टीलाई सुदृढ पार्ने तथा प्रत्येक कार्यकर्ता र एकाइलाई एकीकृत गर्नुपर्ने आवश्यकतामाथि प्रकाश पार्दै निर्वाचन क्षेत्र, जिल्ला र केन्द्रिय तहहरूबीच घनिष्ठ र प्रभावकारी सम्बन्धलाई प्रवर्द्धन गर्ने कुरामा जोड दियो। बैठकमा पार्टीको सञ्चालन शैली र हालसम्मका उपलब्धिहरूको समीक्षामा विशेष ध्यान केन्द्रित गर्दै विभिन्न महत्वपूर्ण मुद्दाहरूमा गहन छलफल गरिएको बताइएको छ।
बैठकमा वक्ताहरूले संगठनलाई सुदृढ पार्न सहयोगी प्रयासहरूको महत्त्वलाई जोड दिए। सबै वक्ताहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङको नीतिगत नेतृत्वमा पार्टीले आम जनताको समर्थन सफलतापूर्वक प्राप्त गरेको कुरामा जोड दिए र भविष्यमा यो विश्वासलाई अझ बढाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। देशका साना राज्यहरूमा मुख्यमन्त्री तामाङ उत्कृष्ट कार्यसम्पादन गर्ने मुख्यमन्त्री बनेकोमा पार्टी पदाधिकारीहरूले केक् काटेर खुशी मनाएका थिए।
हिन्दुस्थान समाचार / बिशाल