गान्तोक, 01 सेप्टेम्बर (हि.स.)। विद्या भारती सिक्किमको वार्षिक साधारण सभा आइतवार तादोङस्थित सरस्वती विद्या मन्दिरमा सम्पन्न भयो। कार्यक्रममा संस्थाका अध्यक्ष सीके राई मुख्य अतिथि थिए भने विद्या भारती अखिल भारतीय सह-मन्त्री पवित्रा दाहाल र संस्थाका मुख्य सल्लाहकार रुद्र पौड्याल विशष अतिथि थिए।
सभाको शुभारम्भ विद्यालयका छात्र-छात्राहरूद्वारा सरस्वती वन्दना र देशभक्तिले ओतप्रोत संस्कृत गीतहरूका साथ गरियो। संस्थाका संयोजक मोहन शर्माले स्वागत सम्बोधन राख्दै अतिथिहरू र कार्यकर्ताहरूको परिचय गराए। गत वर्ष 2024 मा दिवंगत आत्माहरूको शान्तिको लागि दयाराम भट्टाराईले श्रद्धाञ्जलि पाठ गरेका थिए। कार्यालय प्रमुख सूर्य धितालले साधारण सभा 2024 को कार्यवाही पठन गरेर सुनाएपछि उपस्थित सदस्यहरूद्वारा अनुमोदन गरियो।
उनले शैक्षित गुणवत्ता, प्रशिक्षण, कार्यशाला र भावी योजनाहरूको बारेमा विस्तृत जानकारी दिएका थिए। यसैगरी, संयोजक शर्माले 2024-25 को आय-व्ययको विवरण, कार्य वृत्त, 2025-26 को अनुमानित बजेट, सांगठनिक गतिविधि र संघ शताब्दी वर्षका योजनाहरूमाथि प्रकाश पारे।
सभामा सह-मन्त्री पवित्रा दाहालले सप्तशक्ति संगम योजनाको बारेमा विस्तारपूर्वक जानकारी दिइन्। यस अवसरमा विद्या भारती सिक्किम प्रान्तको ई-पत्रिका पनि विमोचन गरियो। पत्रिकाका सम्पादक रजीत प्रधानले पत्रिकाका विशेषताहरूको बारेमा जानकारी गराएका थिए। संस्थाका महामन्त्री विजय कुमार शर्माले विद्या भारती सिक्किमले 2024-25 मा गरेका विविध कार्यक्रमहरू, आगामी योजनाहरू, संगठनको विस्तार, विद्या भारतीको रजत जयन्तीबारे जानकारी गराए।
वर्ष 2024 मा प्रान्तस्तरमा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा 3, 4 र 5 का छात्र-छात्राहरूलाई प्रशस्ति पत्र र चेक प्रदान गरेर सम्मानित गरियो। यो सम्मान सरस्वती विद्या निकेतन, रानीपुल, तादोङ र आरिटारका विद्यार्थीहरूले प्राप्त गरेका छन्। सभालाई सम्बोधित गर्दै अध्यक्ष सीके राई र विशिष्ट अतिथि रुद्र पौड्यालले शिक्षाको क्षेत्रमा मूल्य आधारित शिक्षाको महत्वको बारेमा जोड दिएका थिए।
हिन्दुस्थान समाचार / बिशाल