रङ्ली रङ्लियट खण्डमा दोस्रो अन्तर प्राथमिक पाठशाला प्रश्नोत्तर प्रतियोगिता सम्पन्न
Rongli-rongliot-quiz


खरसाङ, 12 सेप्टेम्बर (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्राथमिक शिक्षा विभागको आयोजनामा रङ्ली रङ्लीयट खण्डमा दोस्रो अन्तर प्राथमिक पाठशाला प्रश्नोत्तर प्रतियोगिता 2025 शुक्रवार सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका डेपुटी चेयरम्यान एवं प्राथमिक शिक्षा विभागका प्रभारी सभासद राजेस चौहान उपस्थित रहेका थिए‌। यसैगरी, कार्यक्रममा क्षेत्रीय सभासद ढेण्डुप पाख्रीन, एसआई, एएसआई लगायत शिक्षक शिक्षिकाहरु र अभिभावकहरु उपस्थित रहेका थिए।

गत 4 सेप्टेम्बर गोरुबथानबाट शुरु भएको प्राथमिक पाठशालास्तरीय प्रश्नोत्तर प्रतियोगिता बुधवार मिरिक, बिहिवार खरसाङ र शुक्रवार रङ्ली रङ्लियट खण्डमा सम्पन्न भयो। यसै क्रममा शनिवार सोनादामा र आगामी 14 नोभेम्बरमा सुकनामा फाइनल सम्पन्न गरिने जानकारी प्राप्त भएको छ।

यस पाठशालास्तरीय प्रनोत्तरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जीटीएका डेपुटी चेयरम्यान राजेस चौहानले जीटीए‌ प्रमुख अनित थापाको निर्देशनमा गत वर्षदेखि प्राथमिक पाठशालाहरुलाई लिएर प्रश्नोत्तर प्रतियोगिता शुरु गरिएको बताए। उनले प्रतियोगितामा जीत ठूलो कुरा होइन, तर प्रतियोगितामा सहभागी हुनु नै ठूलो कुरा हो भन्दै यस्ता प्रतियोगिताहरूले नानीहरुको शिक्षाको स्तर बढाउने बताए।

चौहानले यो प्रतियोगिता शिक्षक शिक्षिकाहरु स्कूल गइरहेका छन् कि छैनन् र कति लगनशील र परिश्रमी छन् भन्ने परीक्षण पनि रहेको बताए। उनले यसपाली नानीहरुलाई सिलगढी क्षेत्रमा घुमाउनु लैजाने जानकारी गराए। चौहानले 2026 देखि प्राथमिक पाठशालाहरुमा जोइफूल लर्निङ शुरु गरिने पनि बताए। कार्यक्रममा सहभागी र विजेता विद्यार्थीहरुलाई प्रमुख अतिथिको बाहुलीद्वारा पुरस्कृत गरियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande