गान्तोक, 12 सेप्टेम्बर (हि.स.)। राज्य विज्ञान एवं प्रौद्योगिकी विभागका प्रधान सचिव डा. सन्दीप ताम्बे, प्रधान निदेशक एवं सचिव धीरेन श्रेष्ठ र विभागका अन्य अधिकारीहरूले आज सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे।
राजभवन अनुसार, राज्यपालले राज्यका उच्च हिमालय क्षेत्रहरूमा स्थित हिमनदी झीलहरूको वर्तमान स्थिति र त्यससॅंग सम्बन्धित जोखिमहरूको बारेमा जानकारी प्राप्त गर्ने इच्छा व्यक्त गरेकाले विभागका अधिकारीहरू राज्यपाललाई भेट्न आएका थिए। राज्यपालले यी संवेदनशील झीलहरूलाई लिएर आफ्नो चिन्ता व्यक्त गरे र विभागीय अधिकारीहरूबाट जानकारी लिए।
विभागले राज्यपाललाई पावर पोइन्ट प्रस्तुतिको माध्यमद्वारा हालैमा राज्य सरकारका छ विभाग र सात केन्द्रिय संस्थानका विशेषज्ञहरू मिलेर एक विशेष प्राविधिक टीम गठन गरिएको जानकारी गराए। उक्त टीम हालैमा उच्च पहाडी क्षेत्रहरूमा पुगेर विस्तृत अध्ययन गरेर फर्किएको र जोखिमपूर्ण झीलहरूको पहिचान गरिएको अधिकारीहरूले बताए। टीमले यी झीलहरूमाथि लगातार निगरानी राखिएको र सम्भावित आपदालाई सम्बोधित गर्न आवश्यक तयारीहरू गरिएको अवगत गराए।
राज्यपालले यस दिशामा केही महत्वपूर्ण सुझाउहरू राखे र हर सम्भव सहयोगको आश्वासन पनि दिए। उनले भने, यस विषयलाई केन्द्रिय स्तरसम्म लैजानु पर्छ ताकि राष्ट्रिय स्तरमा पनि यस संवेदनशील पर्यावरणीय मुद्दालाई गम्भीरतासॅंग लिन सकियोस् र आवश्यक संसाधन र सहयोग प्राप्त होस्।
यस अतिरिक्त, डा. ताम्बेले विभागद्वारा चलाइएका विभिन्न पहलहरूको बारेमा पनि राज्यपाललाई जानकारी दिए। उनले विशेष रूपमा ठूलो अलैंचीको घट्दो उत्पादनलाई लिएर चलिरहेको अनुसन्धान र सिक्किममा क्यान्सरको बढ्दो मामिलालाई लिएर विभागले गरिरहेको अध्ययन र प्रयासहरूको बारेमा पनि विस्तारपूर्वक जानकारी दिए।
हिन्दुस्थान समाचार / बिशाल