मुख्यमन्त्रीद्वारा रिम्बिक गाउॅंको घटनाप्रति गहिरो दु:ख प्रकट
मुख्यमन्त्रीद्वारा रिम्बिक गाउॅंको घटनाप्रति गहिरो दु:ख प्रकट


गान्तोक, 12 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले गेजिङ जिल्लाको अप्पर रिम्बिक गाउॅंमा पैह्रो गएर तीन जनाले आफ्नो ज्यान गुमाउनु परेको घटनाप्रति गहिरो दु:ख व्यक्त गरेका छन्। पैह्रोको चपेटमा परेर दुई जना गम्भीर घाइते भएका छन्।

मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा उक्त घटनाप्रति गहिरो दु:ख व्यक्त गरेका छन्। उनले सूचना पाउनसाथ जिल्लापाल र सम्बन्धित अधिकारीहरूसॅंग कुरा गरेको तथा उद्धार, राहत एवं पुनर्वास पहलहरूमा आफ्नो पूर्ण प्रयास समर्पित गर्न र हर सम्भव सहायता प्रदान गर्न निर्देश दिएको जानकारी गराएका छन्। उनले पीडित परिवारको सुरक्षा, कल्याण र समर्थन सरकारको उच्च प्राथमिकता रहेको बताएका छन्।

यसैगरी, हालैमा गेजिङ जिल्लाको थाङसिङमा पनि भारी वर्षाका कारण पैह्रो गएर एउटी 45 वर्षीय महिलाले आफ्नो ज्यान गुमाएको र अन्य एक व्यक्ति घाइते भएको पनि मुख्यमन्त्रीले जानकारी गराएका छन्। घाइते व्यक्तिको हाल अस्पतालमा उपचार चलिरहेको छ। उनले यस दु:खद घडीमा शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले यस शोकमा ऐक्यबद्धता व्यक्त गर्दै उनीहरूलाई आवश्यक सबै सहयोगको आश्वासन दिएका छन्। यसैगरी, उनले दिवंगत आत्माको चिर शान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande