गेजिङ, 12 सेप्टेम्बर (हि.स.)। पश्चिम सिक्किमको याङथाङ निर्वाचन क्षेत्र अन्तर्गत रिम्बिक गाउॅंमा बिहिवार राति गएको पैह्रोले तीन जनाको ज्यान लिएको छ। पैह्रोको चपेटमा परेर दुई जना गम्भीर रूपमा घाइते भएका छन्।
लगातार रूपमा परिरहेको भारी वर्षाका कारण बिहिवार अबेर राति याङथाङ निर्वाचन क्षेत्रको रिम्बिक गाउॅंमा पैह्रो गयो। पैह्रोको चपेटमा परेर तीन जनाको मृत्यु भएको छ। मृतकहरूमा 52 वर्षीय भीम प्रसाद लिम्बू, उनकी 46 वर्षीय बहिनी अनिता लिम्बू र ज्वाई 50 वर्षीय बिमल राई सामेल छन्।
यसैगरी, घाइतेहरूमा भीम प्रसाद लिम्बूकी 50 वर्षीय पत्नी मनमाया राई र मृतक बिमल राईकी 7 वर्षीय छोरी अञ्जल राई सामेल छन्। घाइतेहरूलाई गेजिङ जिल्ला अस्पतालमा चिकित्सा उपचारको लागि भर्ती गरिएको छ। पैह्रो गएको सूचना पाउनसाथ जिल्ला आपदा प्रबन्धन दल, पुलिसकर्मीहरू, एसएसबीका जवानहरू र स्थानीय मानिसहरूको सक्रिय सहभागितामा बचाउ एवं राहत कार्य शुरू गरिएको थियो। यस क्रममा 44 वर्षीय सुक बहादुर लिम्बूलाई राति नै सुरक्षित उद्धार गरियो।
घर मास्तिरबाट आएको पैह्रोले कच्चा घरलाई पूर्ण रूपमा ध्वस्त बनाएको छ। भारी वर्षा र विषम परिस्थितिबीच निरन्तर राहत एवं उद्धार कार्य जारी रह्यो। यस क्रममा नाबालिग अञ्जल राईलाई आज घरका भग्नावशेषहरूबाट सुरक्षित उद्धार गरियो।
क्षेत्र विधायक तथा मन्त्री भीमहाङ लिम्बूले शोक सन्तप्त परिवारसॅंग भेट गरेर यस दु:खद घडी समवेदना एवं सहयोग प्रदान गरे। उनले पैह्रो स्थलको निरीक्षण गरेर स्थितिको जायजा पनि लिएका छन्।
गेजिङ जिल्लाका जिल्लापाल तेन्जिङ डी. डेन्जोङ्गपाले पैह्रो स्थलको भ्रमण गरेर पैह्रोले पुऱ्याएको क्षतिको विस्तृत मूल्याङ्कन गरे। उनले क्षेत्र विधायकको उपस्थितिमा मानदण्ड अनुसार पीडित परिवारका सदस्यहरूलाई अनुग्रह राशि प्रदान गरे। पीडित परिवारलाई सुरक्षित ठाउॅंमा स्थानान्तरण गरिने बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल